चलचित्र फ्लप, अभिनेत्रीको हातमा नयाँ फिल्मको लाइन–अप

चलचित्र फ्लप, अभिनेत्रीको हातमा नयाँ फिल्मको लाइन–अप
सुन्नुहोस्

पछिल्लो समय नेपाली कलाकारमा एउटा जबर्जस्त मनोविज्ञान स्थापित भइरहेको छ– चलचित्र चलोस् वा नचलोस्, आफ्नो पब्लिसिटी हुनुपर्यो ! यसरी चलिरहेका थुप्रै कलाकारमध्ये एक हुन्, नीति शाह ।  

सामान्यतया नयाँ कलाकारको डेब्यु चलचित्र फ्लप हुँदा करिअर नै जोखिममा पर्छ । दीपिका प्रसाईं, आकाश श्रेष्ठ, सलिनमान बानियाँलगायत थुप्रै कलाकारको डेब्युसँगै करिअर पनि ध्वस्त भएको उदाहरण छ । तर, नीति भने अपवाद बनेकी छन् ।   

चलचित्र फ्लप भए पनि उनको हातमा नयाँ चलचित्रको लाइन–अप भने घटेको छैन । यसलाई कतिपयले ‘नीतिको सुन्दरताको कमाल’ भन्न थालेका छन् । 

नीति अभिनित पहिलो ‘खजुरे ब्रो’ सुपर फ्लप भयो । करिब दुई करोडमा बनेको चलचित्रले नाफा त धेरै परको कुरा आधा लगानीसमेत उठाउन नसकेको सिनेवृत्तमा चर्चा छ । दोश्रो चलचित्र ‘ज्वाइँ साब’ प्रदर्शनको तयारीमा छ । यसको पनि भविष्य त्यति सुरक्षित नदेखिएको बताइन्छ । दिपकराज गिरीको ‘छक्का पञ्जा ५’ र विराज भट्टको कमब्याक चलचित्र ‘१२ गाउँ’ सँग ‘ज्वाईं साब’ को प्रदर्शन जुध्दैछ । 

महानायक राजेश हमालले कमब्याक गर्न लागेको भनिएको चलचित्र ‘नरसिंहा अवतार’मा नीति अनुबन्धित भइसकेकी छन् । त्यसलगत्तै अहिले नयाँ चलचित्र ‘अज्ञात’मा पनि उनले हस्ताक्षर गरेको खबर बाहिरिएको छ ।

सौगात मल्ल र अनुपविक्रम शाहीले शीर्ष भूमिका निभाउन लागेको अज्ञातमा नीतिको रोलबारे निर्माण पक्षले खुलाएको छैन । तर, पहिलो पटक स्थापित कलाकारसँग स्क्रीन शेयर गर्न लागेकाले उनको करिअरमा यो चलचित्र महत्वपूर्ण हुने ठानिएको छ । 

यहाँ नीतिको मात्र हैन कुरो दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको पनि हो । सूचना प्रविधिको सरल पहुँचले अहिले निर्माता तथा निर्देशकहरुलाई नयाँ कलाकार खोज्न कठिन छैन । टिकटक, फेसबुक, यूटुब, इन्स्टाग्रामबाट कलाकार छनोट हुन्छन् । यो मामलामा दिव्या पनि भाग्यमानी ठहरिएकी छन् । 

अहिलेसम्म दिव्याको चलचित्र प्रदर्शनमा नआएकाले उनको अभिनय क्षमताबारे दर्शक जानकार छैनन् । तर, उनको सुन्दरताकै भरमा निर्माताहरु नयाँ चलचित्रमा अनुबन्धित गर्न तछाडमछाड गरेको देखिन्छ । 

कतिपयले बाबु रायमाझीकै सम्बन्धको कारण दिव्याले चलचित्र पाइरहेको टिप्पणी पनि गरेका छन्, जुन एक हदसम्म स्वभाविक पनि हो । तर, पहुँच र सम्बन्ध जे जस्तो भए पनि कलाकारको मूल्याङ्कन भने अभिनयबाटै हुने हो । 

‘एक्टर’बाट डेब्यु गर्न लागेकी दिव्या पहिलो चलचित्र प्रदर्शन नहुँदै ‘पिताम्बर’मा जोडिएकी छन् । समय दिन नभ्याउने भन्दै अभिनेत्री आँचल शर्माले हात झिकेपछि दिव्याको प्रवेश भएको बताइन्छ । यसबाहेक पनि उनले अर्को नयाँ चलचित्र साइन गरिसकेको बुझिएको छ । 

त्यसैले होला निर्माता, निर्देशकहरु चलचित्रको कथा र अभिनयमा भन्दा अभिनेत्रीको सुन्दरतामा मोहित हुँदा राम्रो चलचित्र बन्न नसकेको सुनासो सिनेवृत्तमा सुनिन्छ । अभिनेत्रीहरु पनि चलचित्रको सफलता र असफलतालाई भन्दा आफ्नो पब्लिसिटीमा रमाउँदा चलचित्रको भविष्य खतरामा पुग्ने गरेको गाईंगुईं सुनिन थालेको हो ।

टिप्पणीहरू