प्रधानमन्त्री प्रस्थानको क्रममा अन्य उडान प्रभावित हुँदै

प्रधानमन्त्री प्रस्थानको क्रममा अन्य उडान प्रभावित हुँदै
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्न लाग्नुभएको छ । प्रधानमन्त्री बिहान ११ बजे कतार एयरवेजको उडानमा दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ । प्रधानमन्त्री सवार हुने उडानको १५ मीनेट अघि र पछि काठमाडौं वरपरको आकाशमा अन्य उडानमा रोक लगाइएको छ ।

उहाँ न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि हुनेछन् । हाल क्यानडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा उतैबाट न्युयोर्क पुगेर प्रतिनिधिमण्डलमा सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको औपचारिक उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पररषट्र मन्त्रालयका अनुसार त्यसअघि प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्नुहुने छ । असोज ११ गते हुने हावर्ड विश्वविद्यालयको जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ कार्यक्रमलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

उहाँले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्ने र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ छलफलको विषय छनौट गरिएको छ ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।

टिप्पणीहरू