ठग मेयरको आग्रह : बचत फिर्ताको वातावरण मिलाइयोस्

ठग मेयरको आग्रह : बचत फिर्ताको वातावरण मिलाइयोस्

सहकारी संस्थाको अर्बौं रुपैयाँ अपचलन गरेर फरार बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले धितो बेचेर बचतकर्ताको रकम तिर्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत् पत्र पठाउँदै उनले धितो बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने वातावरण मिलाइदिन भनेका हुन् । 

बचतकर्ताको कूल एक अर्ब ८० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो र आफ्नी श्रीमती छेला नेपालीको जायजेथोसहित तीन अर्ब बढीको सम्पत्ति रहेको बताएका छन् । 

पत्रमा लेखिएको छ, ‘संस्थाले बचतकर्ताको कूल रकम फिर्ता गर्न एक अर्ब ८० करोड रुपैयाँ हाराहारी छ । त्यसका साथै बैंकमा धितो राखि लिएको रकम ३१ करोड रुपैयाँ मात्रै छ । काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्रसालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिवाङ दरबारचोक, तल्लो बजार, पुल्चोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घर–जग्गाको मूल्याङ्कन गर्दा तीन खर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ । कुन–कुन कित्ता बैंकमा धितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत समितिसमक्ष आह्वान गर्न चाहन्छु ।’

त्यस्तै, उनले आफू, आफ्नो परिवारसहित सहकारी सञ्चालक समितिका सदस्यहरुलाई लगाइएको मुद्दा फिर्ता लिएर सार्वजनिक जीवनमा फर्किन दिन अनुरोध गरेका छन् ।

टिप्पणीहरू