भगौडा राष्ट्रपतिलाई नेपालमा विनोद चौधरीको रातो कार्पेट

भगौडा राष्ट्रपतिलाई नेपालमा विनोद चौधरीको रातो कार्पेट

उता कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपतिले शपथ लिएलगत्तै श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौं आएका छन् र उनलाई स्वागत गर्नेमा त्यहीँ बैंक र होटल ब्यवसायमार्फत ब्यापारिक साम्राज्य फैलाउने नेपाली ब्यापारी बिनोद चौधरी खटिएका छन् ।  भुटानको पारो हुँदै आज बिहान काठमाडौं ओर्लेका राजपक्षे ड्रुक एअरको उडान नम्बर केबी ४०० मा बिहान ८ बजे आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बतायो ।

श्रीमतीसहित काठमाडौं आएका राजपक्षे विमानस्थलबाट सोझै ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता गएका छन् । विवादास्पद व्यापारी विनोद चौधरीको उक्त होटलमा बस्ने प्रबन्ध मिलाइएका उनीहरु पर्सि भरतपुर गएर पनि चौधरीकै होटलमा बस्ने छन् । तीन दिन चितवन घुमेपछि आगामी आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

राजपाक्षे उनै हुन् जो दुई वर्षअघि मुलुक छाडेर सैनिक विमानमा छिमेकी माल्दिभ्स हुँदै सिंगापुर, थाइल्याण्ड गएका थिए । चरम आर्थिक संकटपछि उत्पन्न जनअसन्तोषपछि उनले सत्ता त्यागेका थिए ।

७५ वर्षे राजपाक्षे त्यतिबेला श्रीमतीसहित दुईजना सुरक्षा अधिकारी लिएर माल्दिभ्स पुगेका थिए । विदेशबाटै उनले प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गराएका थिए । अहिले उनै राजपाक्षे नेपाल आउनु र चौधरीको होटलमा बस्नुलाई अर्थपूर्ण मानिएको छ ।

चौधरीले श्रीलंकामा पछिल्लो समय केही होटल र बैंकमा लगानी गरेका छन् । राजपक्षेको कार्यकालमा चौधरीमाथि गैरकानुनी ढंगले कैयन व्यवसायमा लगानी गरेको, नाजायज फाइदा उठाएको आरोप श्रीलंकाली व्यवसायीहरुले लगाउँदै आएका छन् ।

गत मंगलबार सिंगापुर गएका चौधरी राजपक्षेको स्वागतका लागि अस्ति राति काठमाडौं फर्केको बताइन्छ ।

टिप्पणीहरू