नाडी छामेर भोलिसम्ममा रविलाई समात्ने तयारी

नाडी छामेर भोलिसम्ममा रविलाई समात्ने तयारी
सुन्नुहोस्

काठमाडौंमा समातेर हिजै राति पोखरा लगिएका पूर्व डिआइजी छविलाल जोशीको बयानको आधारमा रवि लामिछाने आज भोलि नै पक्राउ पर्ने सम्भावना बढेको छ । जोशीलाई कास्की प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्दैछ । 

हिजो राति बुद्ध एअरको उडानबाट पोखरा लगिनुअघि जोशीले आफूलाई मात्रै पक्राउ किन ? भनेर सोधेका थिए । उनले गोर्खा मिडियाको करोडौंको चेक काट्ने अरुलाई छाडेर आफूलाई मात्र समात्ने किन ? भन्दै राखेको प्रश्न सम्भवतः कास्की जिल्ला सरकारी वकिल र अनुसन्धान अधिकारीहरुसमक्ष आज पनि राखेमा सोही आधारमा रवि लामिछाने भोलि बिहानसम्म पक्राउ पर्नसक्ने गृहको उच्च स्रोतले बतायो ।

हिजो पक्राउ पुर्जी नै जारी नभएको अवस्थामा रवि लामिछानेले रास्वपा कार्यालयमा मान्छे भेला गराएर मिडिया ट्रायल गरेको प्रहरीको भनाई छ । रवि आफै प्रहरी कार्यालयमा हाजिर हुन जालान् त ? भन्ने जनआस्थाको जिज्ञासामा स्रोत भन्छ, ‘कतिपय प्राविधिक कुरा मिलाउनुपर्ने छ । त्यत्तिको गर्जेर हिँड्ने व्यक्ति लुरुक्क हाजिर हुन जाँदैन होला । हिजो पनि पुर्जी नै जारी नभई बेकार समात्न लागे भनेर होहल्ला गर्यो ।’ 

‘एउटै केसमा छविलाल समातिँदा ऊ (रवि) चाहि बच्छ ? किनभने गोर्खा मिडियाभित्र सहकारीको रकम घोटालामा छविलालभन्दा बढी जिम्मेवारी ऊ देखिन्छ ।’

प्रहरीले रविको नाडी छाम्दै घटनाक्रमलाई नजिकबाट विश्लेषण गरेको कतिपयको अनुमान छ । मुसालाई बिरालोले खेलाए झैं हैरान पार्ने ट्याक्टिस रविको हकमा पनि लागु हुनसक्छ । गृह मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘एउटै केसमा छविलाल समातिँदा ऊ (रवि) चाहि बच्छ ? किनभने गोर्खा मिडियाभित्र सहकारीको रकम घोटालामा छविलालभन्दा बढी जिम्मेवारी ऊ देखिन्छ ।’

नियम,कानुन र व्यवहार कतै पनि लागु नहुने ‘स्वेट सेयर’ को गफ दिएका रविले प्रबन्ध निर्देशकको हैसियतमा १५ प्रतिशत सेयर लिएको विषय सबैभन्दा जटिल बनेको छ । उद्योग मन्त्रालयका एक जना सहसचिव भन्छन्, ‘पानीमा अपानवायु छाडेको जस्तो कुरो गर्नेलाई के भन्ने ?’

यसैबीच काँग्रेस उपसभापति धनराज गुरुङको पक्राउबारे काँग्रेसभित्रै मतैक्य नभएको बताइन्छ । नेता शेखर कोइरालाले आपत्ति जनाएपछि धनराजलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने विषय पछाडि धकेलिएको बुझिएको छ । तर, निष्पक्षताको लागि रवि, छविलाई पक्राउ गरिँदा धनराज पनि छुट्न नहुने धेरैको भनाई छ ।

यता रविले प्रधानमन्त्रीलाई आज बिहानै सामाजिक सञ्जालमार्फत चुनौति दिएका छन् । लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू,फर्केर आउनुस्,बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि...’

टिप्पणीहरू