छिमेकीसँगको यदाकदाको खटपट स्वाभाविक : प्रधानमन्त्री

छिमेकीसँगको यदाकदाको खटपट स्वाभाविक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उहाँले विश्वका विभिन्न देशमा पुगेका विद्यार्थीहरुलाई अध्ययन सकिएपछि मातृभूमि फर्किन आग्रह गर्नुभएको हो ।      

नेपालबाट युवाहरुको विदेश पलायन रोक्न सरकारले साना उद्योग र स्टार्टअप जस्ता कार्यक्रम ल्याएको पनि उहाँले जानकारी दिनुभयो । विदेशमा अध्ययन गरेका विद्यार्थीहरु स्वदेशमा फर्किएर काम गरे नेपालको अर्थतन्त्र बहुआयामिक बन्ने विश्वास व्यक्त गर्नुभएको छ । 

‘हाम्रै देशमा समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौँ’, उहाँले भन्नुभयो, ‘हामी उदाउँदो लोकतन्त्र मुलुक हौँ, भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ, विदेशमा पढेका, ज्ञान र सिप सिकेका नेपालीहरु स्वदेशमा फर्केर काम गरे बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।’

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कहिलेकाँही छिमेकी देशहरुसँगको सम्बन्धमा खट्पट् देखिए पनि त्यसलाई कूटनीतिक तरिकाले हल गर्नुपर्ने बताउनुभयो । छिमेकी भएपनि सामान्य समस्याहरु सिर्जना हुनु स्वाभाविक रहेको उहाँको तर्क छ ।  

‘कुनै सानी बच्चीले छिमेकमा गएर थाल फुटाउँदा छिमेकले कस्तो शिक्षा दिइस् आफ्नो बच्चालाई भन्छ, फेरि अर्को दिन उसको छोरो आएर गिलास फुटाउँछ, अनि उस्तै भनिन्छ’, उदाहरण दिँदै भन्नुभयो, ‘छिमेकमा सानातिना समस्या हुन्छन्, किनभने उनीहरू छिमेकी हुन् । उनीहरू टाढा भए ती समस्या हुन्न थिए ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकामा रहनुभएका प्रधानमन्त्ती ओलीले हावर्ड विश्वविद्यालयमा आयोजना गर्न लागिएको कार्यक्रमलाई पनि सम्बोधन गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू