लेखराज भट्टलाई सँगै राखेर जनयुद्धको निन्दा

लेखराज भट्टलाई सँगै राखेर जनयुद्धको निन्दा

पूर्वमन्त्री तथा एमाले सांसद योगेशकुमार भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा माओवादी सशस्त्र युद्धलाई 'हिंसा’को संज्ञा दिएपछि मााओवादी केन्द्र आक्रोशित बन्यो । संसदमा सत्ता र प्रतिपक्षबीच जुहारीमात्रै चलेन, ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटेपछि माओवादीले सभाुमख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठायो । यो विवाद अझै टुंगिएको छैन । 

यसैबीच एमाले महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभएर आतंक नै मच्चिएको दावी गरेका छन् । पूर्वमाओवादी नेता लेखराज भट्टकै सामुन्ने आज धनगढीमा उनले माओवादी युद्धको चर्को निन्दा गरेका हुन् । 

‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन, यथार्थ रूपमा भन्नुहुन्छ भने त्यो समयमा आतंक नै भयो’, पोखरेलले भने, ‘बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन्, आतंक थिए ।’

उनले माओवादी आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति भने सहानुभूति देखाए । ‘माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो, समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध गरेका हौँ’, उनले भने । 

आफूसमेत सहभागी सशस्त्र युद्धलाई पोखरेलले  खुलेआम आतंक भन्दा भट्ट भने चिउँडो हात राखेर सुनिरहेका थिए । तत्कालिन नेकपा विभाजनपछि एमालेमा लागेका भट्ट सुदूरपश्चिममा माओवादी आन्दोलन स्थापित गर्न मुख्य भूमिका खेल्नेमध्येका एक हुन् । एमालेमा लागेवापत त्यसबखत छोटो समय मन्त्री बनेका उनी अहिले सुदूरपश्चिम इञ्चार्ज छन् ।

टिप्पणीहरू