बैरोमा खेल,कस्तो होला अबको तालमेल ?

बैरोमा खेल,कस्तो होला अबको तालमेल ?

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका कर्मचारीबीच आपसी समन्वय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तीन जना उपसचिवको दरबन्दी रहेको कार्यालयमा एकले अर्कालाई विश्वास नगर्दा यस्तो स्थिति बनेको हो । 

उपसचिवमध्येका वरिष्ठ राजकुमार राई निमित्त प्रमुख छन् । उनको मातहत निर्देशकद्वय कल्पना मास्के श्रेष्ठ र  हुमनाथ पराजुलीलाई छुट्टा-छिट्टै जिम्मेवारी छ । कम्प्युटर अपरेटरबाट निजामती सेवामा प्रवेश गरेकी कल्पना तेस्रोचोटी निर्देशक बनेर यही अड्डामा आइपुगेकी हुन् । उनी विदेशस्थित नेपाली नियोगमा श्रम सहचारी बन्ने प्रयासमा रहेको बताइन्छ । 

होमनाथ भने पहिलोचोटी वैदेशिक रोजगार कार्यालयमा आएका नयाँ निर्देशक हुन् । राई यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा सूचना अधिकारी थिए । खासै नयाँ र अनुभवविहीन नभए पनि एक आपसमा विश्वास र समन्वय नहुँदा दैनिक प्रशासनिक कामदेखि नीतिगत निर्णयसमेत प्रभावित भैरहेको त्यहीँका कर्मचारीहरु बताउँछन् ।

वैदेशिक रोजगार कार्यालयजस्तो सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्धित सरकारी अड्डामा कर्मचारी नेतृत्वले उच्च दक्षता र क्षमता देखाउनुपर्नेमा त्यसो हुन नसकेको र झन् भद्रगोल अवस्था बनेको एकजना शाखा अधिकृतले जनआस्थालाई बताए । यी तीन जना एकले अर्कालाई नटेर्ने र जिम्मेवारीबाट पन्छिने गरेपछि उनीहरुलाई सुब्बा,खरिदारले समेत गन्न छोडेको अवस्था पनि छ । 

उपसचिवमध्येका एकले गुनासो गर्दै भने- हामीले भनेको कसैले टेर्दैन,के गर्नु र !', कर्मचारी युनियनको आडमा विभिन्न पक्षलाई प्रभावित बनाएर मालदार भनिएका मालपोत, यातायात,कम्पनी रजिष्ट्रार,वाणिज्य विभाग,उध्योग विभाग हुँदै बैरो कार्यालयमा आउने उनीहरु खप्पिस बनिसकेका हुन्छन् । त्यसैले आपसमा नमिल्ने उपसचिवहरुलाई टेरपुच्छर नलगाएको र सेवाग्राही मर्कामा परेको गुनासो श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसम्म पुगिसकेको बताइन्छ । 

मन्त्री भण्डारीले भने बैदेशिक रोजगार विभाग पुनर्संरचनाको प्रक्रियामा रहेकाले केही समयभित्रै यस्ता समस्या समाधान हुने दावी गरेका छन् । जनआस्थासँगको भेटमा उनले भने, 'पुनर्सरचना गर्ने हाम्रो प्रस्ताव कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ,त्यहाँबाट स्वीकृत भएपछि क्याबिनेटले निर्णय गर्छ र हामी नयाँ ढंगले जान्छौँ  !'

वैदेशिक रोजगार काठमाडौँ कार्यालयमा हाल सहसचिव कार्यालय प्रमुख रहने व्यवस्था रहेकोमा पुनर्संरचनापछि त्यो दरबन्दी कटौती हुने र उपसचिव प्रमुख रहने गरी प्रस्ताव गरिएको छ । त्यसो हुँदा एकजना उपसचिवले कार्यालयको कमाण्ड सम्हाल्न पाउने भएकाले अहिलेजस्तो समस्या नआउने मन्त्री भण्डारीको विश्वास छ ।   

तर,आन्तरिक पुनर्संरचनाले मात्रै घुसखोरीका लागि बदनाम सरकारी अड्डाका रुपमा चिनिएको बैदेशिक रोजगार कार्यालयको परिचय बदलिने छैन । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सरोकारवाला निकायहरु चनाखो हुनुपर्ने अवस्था छ ।

टिप्पणीहरू