श्रीलंकाका पूर्वराष्ट्रपति पुल उद्धघाटनमा नजाने, विनोद चौधरीको प्रयास खेर

श्रीलंकाका पूर्वराष्ट्रपति पुल उद्धघाटनमा नजाने, विनोद चौधरीको प्रयास खेर

नेपाल भ्रमणमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाया राजपाक्षेलाई पुल उद्धघाटन कार्यक्रममा सहभागी नगराइने भएको छ । 

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको चाहनाअनुसार नवलपरासीको सुस्तास्थित झोलुङ्गे पुल उद्धघाटन कार्यक्रममा राजपाक्षेलाई लैजाने कार्यक्रम थियो । तर, अर्को देशका पूर्वराष्ट्रपतिलाई कार्यक्रममा सामेल गर्दा आलोचना हुने भएपछि चौधरीले अन्तिम समयमा स्थगित गराएका हुन् ।   

‘हिजो मान्यज्यू (विनोद चौधरी)ले सामान्य जानकारी गराउनु भएको थियो, तर आज फेरि सहभागि नगराउने भन्ने छ । उहाँ (राजपाक्षे) आज पूर्वी नवलपरासीमै हुनुहुन्छ होला, हामीलाई भोलि मात्र आउने जानकारी आएको छ’, नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिईन् ।

आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले पुल उद्धघाटन गर्ने कार्यक्रम छ । सुस्ता गाउँपालिका वडा नं-५ मा बनेको झोलुङ्गे पुल उद्घाटना गर्न राष्ट्रपति पौडेलसहितको टोली काठमाडौँबाट हेलिकोप्टरमा त्यता जाँदैछ । 

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उर्जामन्त्री मन्त्ती दिपक खड्कासहित आधा दर्जन सांसदहरुको सहभागिता रहने बताइएको छ । भिआइपीहरुको आगमनलाई मध्यनजर गरेर सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

राष्ट्रपतिसहित मन्त्रीहरु दिउँसो २ बजे हेलिकोप्टरबाट कार्यक्रमस्थल मै उत्रने प्रजिअ श्रेष्ठले जानकारी दिईन् । ‘सुरक्षा व्यवस्थाको लागि हिजो साँझबाट प्रहरी परिचालन गरिसकेका छौँ’, जनआस्थासँग उनले भनिन्, ‘उहाँहरु दिउँसो २ बजे कार्यक्रम हुने ठाउँमा उत्रिनुहुन्छ ।’

श्रीलंकामा राजनीतिक संकट चुलिएपछि देश छोडेर भागेका राजपाक्षे श्रीमतीसहित अस्ति नेपाल आएका हुन् । हिजो नवलपरासीस्थित सिजिधाम घुम्न गएका उनी आज उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।
 

टिप्पणीहरू