विश्वभरका साहित्यकार धुलिखेल ओइरिए

विश्वभरका साहित्यकार धुलिखेल ओइरिए

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ । 

विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाईटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वल्र्ड (मेलो)’ को संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । 

भोलिदेखि यही असोज १३ गतेसम्म आयोजना हुने उक्त सम्मेलनमा विशेष गरी साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा परेका प्रभावबारे छलफल हुने जनाइएको छ। 

सम्मेलनमा मुलुकभित्रका ८० तथा अन्तर्राष्ट्रियस्तरबाट १२० गरी २०० जनाको सहभागिता रहने र १२० वटा कार्यपत्र प्रस्तुत हुने विश्वविद्यालयले जानकारी गराएको छ । सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा.कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.अम्मराज जोशीले मुख्य सम्बोधन गर्ने छन् । 

त्यस्तै, साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर सम्मेलनमा प्रा.कृष्णचन्द्र शर्मा, प्रा.आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटालगायतको समूह छलफल विशेष आकर्षणका रुपमा रहने छन् । 

सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वनवाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्यजस्ता उपशीर्षकमा भएका अनुसन्धानको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराको विभिन्न पृष्ठभूमिलाई उजागर गर्ने विश्वविद्यालयको भनाइ छ । 

समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यका साथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरु सदस्य रहने अन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापित विद्धत् सञ्जाल हो । मेलोकी अध्यक्ष प्रा.मञ्जु जाइड्का हुन् । उनी सम्मेलनमा सहभागी हुन भारतबाट विद्धानको टोलीसहित नेपाल आएकी छन् ।

टिप्पणीहरू