सभापति पक्राउ नपर्दै चीन गएको रास्वपा टोली फर्क्यो

सभापति पक्राउ नपर्दै चीन गएको रास्वपा टोली फर्क्यो

चीनको १० दिने भ्रमणमा शनिबार राति काठमाडौंबाट ग्वाङ्चौ उडेको राष्ट्रिय स्वतन्त्र पार्टीको १४ सदस्यीय टोली सिचुआन प्रान्तको छन्तु हुँदै काठमाडौं आइपुगेको छ । चीन गएको भोलिपल्टै सभापति रवि लामिछाने सहकारी काण्डमा समातिने परिस्थिति बन्दै गएपछि सोमबार बिहानै स्वदेश फर्कने बताइएको थियो । 

चीनको ग्वाङ्चौ हुँदै बेइजिङ गएको टोलीलाई स्वयम् रवि लामिछानेको आदेशमा आइतबार राति बाटोबाटै फर्कन लगाइएको खबर बाहिरिएको थियो । सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा भएको अपचलनमा गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, उपाध्यक्ष छविलाल जोशी र सञ्चालक कुमार रम्तेललाई प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ । सोहीबमोजिम पूर्व डिआइजी छविलाल जोशीलाई आइतबार काठमाडौंमा पक्रेर पोखरा लगिएको हो । 

जोशीलाई पोखरा लगेपछि एउटै काण्डमा आफू पनि तानिने सम्भावना बढेपछि लामिछानेले आइतबार साँझदेखि बेचैनीपूर्वक पार्टी कार्यालयमा बसेर निरन्तर बाहिर अरु दलका नेतासँग फोनमा हारगुहार गरेका थिए । गिरफ्तारी हुने सम्भावना देखेपछि रास्वपाका नेता तथा कार्यकर्तालाई साँझदेखि नै वनस्थलीस्थित पार्टी कार्यालय बाहिर नाराबाजी गर्न लगाइएको थियो । 

शनिबार ाति चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली आज आएको हो । मुलुकभित्र उत्पन्न पछिल्लो राजनीतिक अवस्था र सभापति लामिछाने पक्राउ पर्ने निश्चित भएपछि टोली एअर चाइनाको उडान नम्बर सीए ४३७ मा छन्तुबाट बिहान ११.३० बजे आइपुग्यो ।

टोलीमा सहकारी काण्डको प्रतिवेदनमा हस्ताक्षर गर्ने विदेश विभाग प्रमुख शिशिर खनाल, लिमा अधिकारी, मनिष झा, गणेश पराजुली, डा.तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु श्रेष्ठ छन् ।

तस्बिरहरु ः

टिप्पणीहरू