सत्ता गठबन्धनविरुद्ध सडकबाट मोर्चा कस्ने प्रचण्डको उद्घोष

सत्ता गठबन्धनविरुद्ध सडकबाट मोर्चा कस्ने प्रचण्डको उद्घोष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेको षड्यन्त्रविरुद्ध सदन र सडकबाट महाअभियान चलाउने उद्घोष गर्नुभएको छ । 

अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सरकारमा हुँदा शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान अब सडकबाट थाल्ने बताउनुभएको हो । आफू नेतृत्वको सरकारले इतिहासमै पहिलोपल्ट हाइ-प्रोफाइल व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएको बताउँदै प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा विद्यार्थीहरुलाई प्रभावकारी भूमिका खेल्न आग्रहसमेत गर्नुभयो । 

देशका विद्यमान समस्या समाधान गर्न माओवादी नै एउटा विकल्प भएको दावी गर्दै उहाँले भन्नुभयो, ‘यो जटिल परिस्थितिको सामना गर्न तपाईहरूको साथ भएमा केही महिनाभित्रै परिस्थिति उल्टिछ, म संसदमा सिंह भएर निस्किएको छु, तपाईहरु सडकको बाघ हुनुहोस् । सम्पूर्ण संकटको सामना गर्ने सामर्थ्य वामपन्थी तथा विशेष गरी माओवादी शक्तिमै छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले कांग्रेस-एमाले गठबन्धन अपवित्र गठबन्धनको संज्ञा दिँदै आफैँ कुहिएर झर्ने जिकिर गर्नुभयो । माओवादीलाई सरकारमा जाने कुनै हतार नभएको स्पष्ट पार्दै थप्नुभयो, ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं, तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था माओवादीकै कारण स्थापित भएको र त्यो पार्टीको गौरवपूर्ण सम्पति बनेको बताउनुभयो । 'नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ !', अध्यक्ष प्रचण्डले भन्नुभयो । 

अर्को प्रसंगमा प्रचण्डले विदेशी शक्तिहरुले विस्तारै माओवादीको ताकत बुझ्दै गएको पनि बताउनुभएको छ । सत्ता बाहिर हुँदा पनि बेलायती प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतामा चिठ्ठी पठाएको जानकारी दिँदै भन्नुभयो, ‘सरकारबाट हटेपछि बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा एउटा चिठी पठाए । बेलायती राजदूतले ल्याएर त्यो चिठी दिनुभएको थियो । म अहिले प्रधानमन्त्री होइन, सरकारबाट हटिसकेँ, किन चिठी पठाएको भनेर सोध्दा तपाईं प्रधानमन्त्री नभए पनि हाम्रो लागि प्रधानमन्त्री सरहकै मान्छे हुनुहुन्छ भन्ने जवाफ दिए ।’

उहाँले अब देशको भविष्य युवाकै हातमा भएकाले त्यसको जिम्मेवारी बोध गर्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको छ । तर, गुटगत प्रवृतिबाट भने टाढा रहन उहाँले सुझाव दिनुभयो । 

‘विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी छैन’, प्रचण्डले भन्नुभयो ।

टिप्पणीहरू