झ्याप्ले खोला पहिरोमा थुप्रै पुरिएको आशंका

झ्याप्ले खोला पहिरोमा थुप्रै पुरिएको आशंका

धादिङ र काठमाडौको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार ११ बजेसम्म २५ वटा वटा शव फेला परेको छ । शनिबार राति १४ वटा शव निकालेको उद्धार टोलीले आइतबार थप ११ शव झिकेको हो ।

शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालिएको थियो । आइतबार नौ जना पुरुष र दुई जना महिलाको शव झिकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

उनका अनुसार पुरिएका सवारी साधनहरु धुजाधुजा अवस्थामा र शव पनि छुट्टाछुट्टै भेटिएको छ । जसका कारण गाडीको नम्बर पहिचान गर्नसमेत कठिन भएको छ । 

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस भने यकिन भएको छ । एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको मोबाइल नम्बर देखिएपछि नम्बर पत्ता लागेको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।

पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक,सहचालकसहित तीनजना र एक जना यात्रु रहेको भनिएपछि बीचबाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।  

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको छ । त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकोले अझ थुप्रै शव भेटिन सक्ने आशंका गरि उद्दारकर्मीको टोलीले खोजी कार्य तीव्र पारेको छ ।

शुक्रबार दिउँसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि.मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रा.लिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए । सो बस पनि सोही पहिरोमा परेको अनुमान गरिएको छ ।

टिप्पणीहरू