रविको सीधा कुरा डटकमका प्रकाशक र सम्पादकलाई तीन महिना कैद

रविको सीधा कुरा डटकमका प्रकाशक र सम्पादकलाई तीन महिना कैद

अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले दुबै जनालाई तीन महिनाको सजाय सुनाएको छ ।

उनीहरुले अदालतसमक्ष लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा तीन महिना कैदलाई सात दिन कायम हुने फैसलामा उल्लेख छ । त्यस्तै राजकुमार तिमल्सिनालाई छ महिना कैद र सीधा कुरा डटकमलाई पाँच हजार जरिवानाको फैसला गरेको छ । 

तिमिल्सिनाले फेक अडियो सीधा कुरा डटकमलाई उपलब्ध गराएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनसम्बन्धी मुद्दामा सर्वोच्चका न्यायाधीशसँगै ठूला सञ्चार माध्यमका सञ्चालकहरु संलग्न भएको अडियो तिमिल्सिनाले बनाएको र सीधा कुराले प्रशारण गरेको थियो ।

बृहत पूर्ण इजलासले यसअघि चार पटक निर्णय सुनाउने मिति सारेर आज आदेश दिएको हो ।

टिप्पणीहरू