अमेरिकाबाट आउँदा आउँदै ढिला भएको प्रधानमन्त्रीको प्रष्टीकरण, आलोचना गरेकोमा आपत्ति

अमेरिकाबाट आउँदा आउँदै ढिला भएको प्रधानमन्त्रीको प्रष्टीकरण, आलोचना गरेकोमा आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जति राम्रो काम गर्दा पनि आलोचना मात्र भएको भन्दै गुनासो गर्नुभएको छ । बाढीपहिरो र त्यसपछिको अवस्थाबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले 'कान नसुन्ने मान्छे'को कथा सुनाउँदै  यस्तो दु:खेसो पोख्नुभएको हो ।  

‘एक जना कान अलि कम सुन्ने मान्छे थिए । कुरा गर्दाखेरी कान सुन्दैन भन्ने थाहा छैन ? अलि साह्रो बोल्नुपर्दैन ? अलि साह्रो बोल्नुस् भनेर रिसाउथे', प्रधानमन्त्रीले अगाडि भन्नुभयो, 'अलि साह्रो बोल्यो भने फेरि कान सुन्दैन भन्दैमा यति साहो कराउनुपर्छ त ? भनेर निहुँ खोज्थे । विस्तारै बोल्दा पनि भएन, साह्रो बोल्दा पनि भएन । यहाँ त्यस्तै भइरहेको छ । बाढी पहिरो जाँदै गदा म बाहिर भएपछि मन्त्रीज्यूहरुसँग कुराकानी भइरहेको थियो । उहाँले एलर्ट भएर काम गर्नुभएको छ ।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै असोज ४ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । १० गते महासभालाई सम्बोधन गरेपछि केही दिन राजनीतिक भेटघाट गर्नुभएका उहाँ हिजो नेपाल फर्किनुभएको हो । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्यक्रम तालिकाभन्दा छिटो गएको र ढिलो फर्केको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ । 

देश बाढीपहिरोको चपेटामा रहेका बेला भ्रमण छोट्याएर फर्कनुपर्नेमा उल्टै अनावश्यक कार्यक्रममा अल्मलिएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो । असोज ७ गते तय भएको 'फ्युचर समिट'मा सहभागी हुन केही दिनअघि अमेरिका जानुपरेको पनि उहाँले स्पष्टीकरण दिनुभएको छ ।

‘मैले सम्बोधन गर्ने १० गते थियो । महासभाको मुख्य विषयवस्तु फ्युचर समिट ७ गते थियो,  त्यसैले अघि गएको हुँ । त्यसका पनि विभिन्न सेगमेन्टहरु थिए', उहाँले भन्नुभयो, 'त्यसैले अघि जानुपर्थ्यो  । म जानुभन्दा अघि यस्तो विपद होला थाहा थिएन, अनुमान पनि थिएन ।’

आफू पानी पर्दा पर्दै अमेरिकाबाट हिँडेका दाबी गर्दै प्रधानमन्त्रीले थप्नुभयो,  ‘१० गते सम्बोधन सकेपछि ११/१२ गतेतिर आउने तयारीमा थिए । त्यही दिन पानी पर्यो । पानी पर्दा पर्दै १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु । आउँदाखेरी एक दिन ग्याप हुन्छ । १४ गते आइपुगेँ  ।’

उहाँले बाढी पहिरो प्रभावितहरुको उद्धार र राहतको लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो । तीनै तहका सरकार मिलेर उद्धार र राहतको काम अघि बढाउने प्रधानमन्त्रीको भनाई छ । 

‘तत्कालको संकट टार्न बेलिब्रिज बन्छ, दिर्घकालीनको लागि पक्की पुल पनि बन्छ । किसानहरुले अन्नपातको क्षतिपूर्ति पाउँछन् । घरविहीन भएकाहरुलाई उचित आवास निर्माण गर्न सहयोग गर्छौ । हामी सबै मिलेर टार्ने हो यो संकट’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू