नेपालमा लगानीको अवसर खोज्दै कतार

नेपालमा लगानीको अवसर खोज्दै कतार

कतारका लगानीकर्ताले नेपालमा सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तिय संस्थासम्बद्ध सेवा, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा रुची देखाएका छन् । श्रमिक गन्तव्यको रुपमा मात्र नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसरसमेत खोजिरहेको त्यहाँको चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा विन जसिम बिन मोहमद अल थानीको भनाइ छ । 

कतारको राजधानी दोहामा हिजो सम्पन्न नेपाल–कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा उनले उक्त धारणा राखेका हुन् । ‘यहाँका लगानीकर्ता नेपालमा अवसर खोजिरहेका छन्,’ अध्यक्ष थानीले भने, ‘हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्ने छौं ।’

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति गरेको बताइन्छ । अध्यक्ष ढकालले आगामी वर्ष नेपाल–कतार बिजनेस सम्मेलन नेपालमा आयोजना गर्न राखेको प्रस्तावमा सहमति भएको महासंघले जनाएको छ । 

बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र विभिन्न कानूनमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । उनले कतारका लगानीकर्तालाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायत क्षेत्रमा पर्याप्त सम्भावना रहेको जानकारी दिएका छन् ।

ढकाले कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका छन् ।

टिप्पणीहरू