सशस्त्रद्वारा बडादशैंको बडाभोज रद्ध

सशस्त्रद्वारा बडादशैंको बडाभोज रद्ध

सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) स्थगित गरेको छ । हरेक वर्ष दशैंको अवसरमा आयोजना गरिने बडाखाना यो वर्ष आजका लागि तय गरिएको थियो । 

हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज स्थगित गरिएको बुझिएको छ । गृह स्रोत भन्छ, ’हेडक्वार्टरले आदेश दिएर हाललाई स्थगित गराएको भन्ने रिपोर्ट छ । अन्य युनिटको पनि रोकिएको होला ।’

गतसाता यो भोजलाई तिहारसम्म सार्नेबारे पनि उच्च तहमा छलफल भएको बताइन्छ । त्यसबेला केही अफिसरले बडाखानामा हुने खर्च रकम यो वर्ष प्राकृतिक प्रकोप राहतकोषमा हाल्न सुझाएका थिए । 

दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन् । परम्परा नै बनेको उक्त भोजमा पछिल्लो समय हुने गरेको खर्च कम्तीमा सातदेखि १० करोड हुने अनुमान छ । 

फौजको हरेक युनिटको भोजमा माछामासु, चिउरा,तरकारीसँगै प्रशासनिक व्यहोरा मिलाएर झोल पदार्थको समेत व्यवस्थापन हुने गरेको छ ।

टिप्पणीहरू