सिंहदरबारले नहेरेपछि पीडितलाई स्थानीयको शरण

सिंहदरबारले नहेरेपछि पीडितलाई स्थानीयको शरण

गत असोज १० देखि १२ गतेसम्म परेको भीषण वर्षापछि आएको विनासकारी बाढी पहिरोले काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । प्राकृतिक प्रकोपमा साढे दुई सयको ज्यान गएको छ भने दर्जनौँ वेपत्ता र घाइते छन् । हजारौँ विस्थापित छन् । 

बाढीले घरवास बगाएपछि सडकमा पुगेका पीडितहरु यतिबेला खाना र बासको समस्यामा छन् । यसअघि उद्धारमा समेत चुकेको संघीय सरकारको भूमिका राहत वितरणमा पनि प्रभावकारी देखिएको छैन । यस्तो स्थितिमा गाँसबासका लागि भौंतारिएका पीडितको दु:खको सारथी बनेका छन् स्थानीय तह । 

आईतबारदेखि ललितपुर महानगरपालिका-२५ स्थित नख्खु खोला आसपासका पीडितलाई स्थानीयहरु मिलेर खाना खुवाइरहेका छन् । झन्डै ३ सय जनालाई स्थानीयवासीको सहयोगमा खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउँछन् । सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट सहयोग गरिरहेको र त्यसैबाट  खाने र बस्ने स्थानको व्यवस्था गरिएको उनले जानकारी दिए । 

वडा नम्बर २५ मा दुई जनाको ज्यान गएको छ भने २५० जना विस्थापित छन् । उनीहरुलाई बालकुमारी मन्दिर र सार्वजनिक भवनमा बास बस्ने व्यवस्था मिलाइएको छ ।
  
‘यो हप्ताको आईतवारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ', वडाध्यक्ष खत्रीले भने, 'सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ ।' 

बाढीले घर बगाएसँगै मनकारी दाताले दिएको राहत सामाग्री राख्ने ठाउँसमेत नभएको गुनासो पीडितहरुले गरेका छन् ।

टिप्पणीहरू