शिक्षण पेशाप्रति अरुचि, शिक्षक पाउनै धौ धौ
शिक्षा कुनैपनि देश र समाज विकासको मेरुदण्ड हो । जसरी जग बलियो भएमा घर बलियो बन्छ, त्यसैगरी शिक्षा गुणस्तरीय भएमा मुलुकले दक्ष जनशक्ति उत्पादन गर्न सक्छ । दक्ष जनशक्तिको उत्पादन नै मुलुक विकासको पहिलो खुड्किलो हो । यद्यपि, मुलुकको शैक्षिक गुणस्तर वर्षेनि खस्किँदै गएको छ । सार्वजनिक शिक्षामा पर्याप्त लगानी गर्नबाट सरकार चुक्दा शैक्षिक स्तरमाथि नै प्रश्न उठेको छ ।
यता, सरकारले शिक्षण पेशालाई अपहेलना गर्दा पछिल्लो समय शिक्षक भेट्टाउनै छाडेका छन् । शिक्षण पेशाप्रति युवाको आकर्षण घट्दो छ । अबको केही वर्षपछि मुलुकमा शिक्षक नै नपाउने अवस्था बन्ने अनुमान गर्न सकिन्छ । तर, सरोकारवालाको यसतर्फ ध्यान केन्द्रित हुन सकेको छैन । सामुदायिक विद्यालयहरुमा शिक्षकको चर्को अभाव छ । आठौं पटकसम्म विज्ञापन गर्दा पनि एउटा शिक्षक पाउन महाभारत भएको छ ।
अछामको देवीमाडौं माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि विज्ञापन गर्यो । यद्यपि, सात पटकसम्म विज्ञापन गर्दापनि आवेदन परेन । गत भदौ १९ गते विद्यालयले आठौं पटक विज्ञापन गरेपछि बल्लतल्ल एउटा आवेदन परेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले सातपटक आवेदन माग गर्दापनि शिक्षक नपाएको अवस्था छ । गत वर्षदेखि गणितको कामचलाउ कक्षा सञ्चालन गर्दै आएको विद्यालयलाई शिक्षक पाउनै महाभारत परेको हो ।
नगर अनुदान कोटामा मावि तहमा गणित विषय पढाइरहेका शिक्षकले प्रावि तहमा स्थायीमा नाम निकालेपछि उनी सरुवा भएर अन्यत्रै गएका थिए । जसका कारण विद्यालयले गणित शिक्षकबिना नै कक्षा चलाइरहेको थियो ।
प्युठानको गौमुखी गाउँपालिका–१ मा रहेको अर्खा माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषयको शिक्षकका लागि दरखास्त आह्वान गर्यो । तर, पाँचौंपटक आवेदन आह्वान गर्दापनि कसैले चासो देखाएनन् । आवेदन नै नपरेपछि विद्यालयले अध्यापन अनुमति पत्र नभएकाहरुलेसमेत आवेदन दिन सक्नेगरी पछिल्लोपटक दरखास्त आह्वान गरेको छ ।
उता, अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित वीरेन्द्र माध्यमिक विद्यालयले गणित शिक्षकका लागि तीनपटक विज्ञापन खुलायो । तर, तीनैपटक एक जनाले पनि आवेदन दिएनन् । शीतगंगा नगरपालिका–९ स्थित पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि विज्ञापन प्रकाशित गरेको थियो । पटकपटक विज्ञापन प्रकाशित गर्दा त्यहाँपनि कसैले आवेदन नदिएका हुन् ।
शिक्षक नपाएपछि विद्यार्थीको पढाइमा असर पुगेको छ । ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–२ स्थित थेचम्बू माध्यमिक विद्यालयले सात महिनासम्म खोज्दापनि विज्ञान शिक्षक नभेटेको अवस्था छ ।
यी त केही उदाहरण मात्र हुन् । शिक्षक नहुँदा पछिल्लो समय सामुदायिक विद्यालयहरुलाई कक्षा सञ्चालन गर्न निकै समस्या भएको छ । दुर्गममा मात्र नभई तुलानात्मक रुपमा सुगम जिल्लामा पनि शिक्षक पाउन सकस छ । शिक्षण पेशाप्रति आकर्षण घट्दै जाँदा विद्यार्थीहरु मर्कामा परेका छन् । एउटै शिक्षकलाई विभिन्न विषयको कक्षा लिनुपर्ने बाध्यता आइलागेको छ ।
शिक्षण पेशाप्रति किन घट्दैछ रुचि ?
शिक्षण एउटा आदर्श पेशा हो । मानव जीवनमा सबैभन्दा पुरानो र मर्यादित पेशामा यसै पेशालाई लिइन्छ । मानिसभित्र भएको अज्ञानतालाई हटाएर ज्ञानको ज्योति दिने व्यक्ति शिक्षक हुन् । तर, यो पेशालाई त्यति धेरै महत्व दिएको पाइँदैन् । अरु पेशामा जस्तो कमाइ र सुविधा नहुने भएकाले यस पेशाप्रति विकर्षण बढेको बुझिन्छ ।
यता, शिक्षा संकायमा भर्ना हुनेको संख्या पनि कम छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बल्लतल्ल उत्तीर्ण भएकाहरुमध्ये यस संकायमा भर्ना हुन्छन् । जो आफैं बल्लतल्ल पास भएको छ, उसले दिने शिक्षा कस्तो होला ? राम्रो ग्रेड आउने विद्यार्थीको रोजाइमा विज्ञान र व्यवस्थापन पर्छ । विज्ञान पढेकाहरु शिक्षण गर्न खासै रुचाउँदैनन् । जसका कारण मुलुकमा शिक्षकको कमी भएको हो ।
अर्को प्रमुख कारण हो विदेश पलायन । युवा जनशक्ति धमाधम विदेश पलायन भइरहेका छन् । माध्यमिक शिक्षा सकाउनेबित्तिकै उनीहरु विदेश हानिन्छन् । अनि पढाउँछ कसले ? क्षमता भएकाजति जम्मै धमाधम विदेश पलायन हुँदै गर्दा मुलुकको भविष्य अन्धकार देखिन थालेको छ । शिक्षक नै भएनन् भने विद्यार्थी कसले पढाउँछ ?
मुलुक कसरी विकास हुन्छ ? मुलुक विकासमा पछाडि पर्नुको प्रमुख कारण त्यही नै हो । यता, सेवासुविधा राम्रो नभएको भन्दै शिक्षकहरुले धमाधम शिक्षण पेशा छोडिरहेका छन् । एउटाले बीचमा छोड्ने र अर्को नपाउने समस्याले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । पछिल्लो समय विशेषतः अंग्रेजी, विज्ञान र गणितको शिक्षक पाउन निकै गाह्रो छ । जसका कारण विद्यार्थीहरु यी विषयमा सबैभन्दा बढी अनुत्तीर्ण हुने गरेका छन् ।
शिक्षक छैनन्, सरोकारवालालाई छैन चासो
अधिकांश विद्यालयमा शिक्षकको दरबन्दी निकै कम छ । त्यसैले पनि समस्या निम्तिएको हो । अर्कोतिर दुर्गममा कुनै शिक्षक जानै चाहँदैनन् । सुगम मात्र शिक्षकको रोजाइँमा पर्छ । सुगममा भए जाने, दुर्गममा नजाने प्रवृत्तिका कारण दुर्गमका विद्यार्थी पढाइमा पछाडि पर्दै गएका छन् । यता, दुर्गमका विद्यार्थीको नतिजा पनि राम्रो देखिँदैन ।
गत वर्षको एसईईमा परीक्षामा सहभागी भएकामध्ये आधाभन्दा बढी अनुत्तीर्ण भए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक स्तरको गुणस्तरमाथि प्रश्न उठाए । शिक्षकहरुसँग सिकाउने ज्ञान नभएको उनको भनाइ छ । तर, के कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको छ ? यसतर्फ सरोकारवालाको ध्यान गएको छैन । कतिपय विद्यालयमा विषयगत शिक्षक नै छैनन्, यद्यपि सरकार यसबारे बेखबर देखिन्छ ।
सरकारले शिक्षक गतिलो भएनन् भन्नुको साटो शिक्षा क्षेत्रमा भएका समस्या खोताल्न र समाधानतर्फ लाग्न जरुरी छ ।
‘शिक्षक सरकारको प्राथमिकतामा परेनन्’
नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारी सरकारको नजरमा शिक्षक प्राथमिकतामा नपर्दा यो अवस्था सिर्जना भएको बताउँछन् । शिक्षकको सेवासुविधाको मामिलामा सरकार गम्भीर नभएकाले शिक्षण पेशाप्रति विकर्षण बढेको उनको भनाइ छ ।
‘सरकारको दृष्टिकोणमा शिक्षकको कुनै महत्व छैन् । सरकार सँधै शिक्षकले पढाएको भएन्, शिक्षक गतिलो भएनन् मात्र भन्छ । त्यसो भनिरहँदा सरकारले शिक्षकको समस्या पनि बुझिदिनुपर्यो । शिक्षकहरुलाई सेवासुविधा छैन् । माध्यमिक कक्षा पढाउने शिक्षकको तलब ४७ हजार छ । जबकी भारतमा एक लाखमाथि छ । सेवासुविधा केही छैन्, अनि कसले पेशाप्रति रुचि राख्छ ?’,उनले भने । त्यस्तै, उनले शिक्षा क्षेत्रमा गतिलो नीति नै नभएको बताए ।
‘अबको केही वर्षपछि शिक्षक नै पाइँदैन’
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर अबको केही वर्षपछि शिक्षक नै नपाउने बताउँछिन् । बढ्दो विदेश पलायन, जब ग्यारेन्टीको अभावलगायत कारणले शिक्षण पेशाप्रति अरुचि बढेको उनको भनाइ छ । सरकारले हालसम्म पनि शिक्षा नीति ल्याउन नसकेकोमा पनि उनले गुनासो पोखिन् ।
उनले भनिन्,‘अबको १० वर्षपछि यहाँ शिक्षक पाइँदैन । केही सेवासुविधा छैन । दुर्गम, सुगम जता भनेपनि तलब मात्रै हो । लामो समयसम्म अस्थायी शिक्षकको रुपमा काम गर्नुपर्ने बाध्यता छ । राम्रो ग्रेड आएकाहरु सबै विज्ञान पढ्नतर्फ लागिहाल्छन् । शिक्षा कसले पढ्ने ? सरकारले राम्रो ग्रेड आएकाहरुलाई शिक्षक बन्न प्रोत्साहन गर्नुपर्ने होइन र ?’
दुःखी पेशा भएर पनि होः शिक्षाविद्
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार शिक्षण दुःखी पेशा भएकाले युवा पुस्ताको रोजाइँमा नपरेको हो । यस पेशामा पदोन्नति हुन लामो समय लाग्ने र घुस खाने ठाउँ पनि नहुने भएकाले शिक्षक बन्न नरुचाउने उनको बुझाई छ ।
‘यो एकदमै दुःखी पेशा हो । अहिलेपनि शिक्षण शैलीमा परिवर्तन आउन सकेको छैन् । चिच्याईचिच्याई पढाउनुपर्छ । फेरि यस पेशामा पदोन्नति हुने सम्भावना पनि न्यून छ । अन्य पेशाजस्तो अवैध भएपनि घुसको अवसर हुँदैन । त्यसैले शिक्षण पेशामा रुचि घटेको हो भन्ने मलाई लाग्छ’,उनले भने ।
शिक्षण पेशाप्रति अहिलेको पुस्ताको आकर्षण बढाउन सरकारले एकाध काम गर्नुपर्ने उनको भनाइ छ । उनको भनाइमा सरकारले शिक्षकलाई अन्य सरकारी पेशाझैं सेवासुविधा दिनुपर्छ । त्यस्तै, शिक्षण कला बद्ल्न उनले सुझाव दिएका छन् ।
टिप्पणीहरू