साथ होस् त यी सुन्दरीको जस्तो होस्
मार्गुरेट एलिस लेहैंण्डलाई सबैले मायाले‘मिस्सी’ भनेर बोलाउँथे । १५ वर्षको उमेरमा बाथरोगको शिकार बनिन्, झण्डै मरिनन् । बाँचे पनि सधैंको लागि खराब कलेजो बोकेर बाँच्न विवश बनिन् । न्युयोर्कमा जन्मेकी उनले कलेजमा सचिवीय विज्ञान पढिन् । र, पढाइ अनुरुपको जागिर खोज्न हिँडिन् । लामो प्रयासपछि बल्ल जागिर पाइन्, जलसेनामा । सानो ओहोदाकी कर्मचारी थिइन् । प्रथम विश्वयुद्ध चलिरहेको थियो । जलसैन्य उपमन्त्री थिए– फ्रेन्कलिन डेलानो रूजबेल्ट । पछि त्यहाँको राष्ट्रपति । स्मरणीय छ, अमेरिकाको २ सय ४९ वर्षको इतिहासमा रूजबेल्ट एक्लो त्यस्ता व्यक्ति हुन्, जसले लगातार ४ कार्यकाल सरकारको नेतृत्व गरे ।
सत्तारुढ डेमोक्रेटिकका नेताहरूले मिस्सीमा सचिवीय गुण देखेपछि पार्टी सचिवालयमा सरुवा गरिदिए । सन् १९२० को निर्वाचनमा उक्त पार्टीको तर्फबाट राष्ट्रपतिमा जेम्स कक्स र उपराष्ट्रपतिमा रूजबेल्टले उम्मेदवारी दिए । तर दुबै नराम्रोसँग हारे । चुनाव हारेपछि रुजबेल्ट न्युयोर्क फर्के र पुनः वकालत शुरु गरे । निर्वाचन प्रचारप्रसारमा मिस्सीको कामबाट प्रभावित भइसकेका रुजबेल्टले उनलाई लगे । पहिला स्वकीय सचिव लुसी मर्सर थिइन् । लुसीसित अन्तरंग सम्बन्ध गाँसेपछि पत्नी अन्ना इलेनोरसँग ठूलै लफडा प¥यो । प्रेमपत्रको पुलिन्दा नै हात पारिन्, इलेनोरले । पतिपत्नीको सम्बन्धविच्छेद हुने तहसम्म पुगेपछि राजनीतिक भविष्य डाँवाडोल हुनबाट बच्न रुजबेल्ट पिए फेर्न विवश बनेका थिए ।
मिस्सी पनि लुसीजस्तै तरुनी थिइन्, २२ वर्षकी । ५ फुट ७ इञ्च अग्ली, नीलो आँखा, खैरो र कालो मिसिएको लामो कपाल, मसिनो स्वर । सबै दृष्टिकोणबाट आकर्षक शरीरकी धनी । रुजबेल्ट त्यसै पनि युवतीको मामिलामा कमजोर‘दिलवाला’ थिए । पत्नी इलेनोरले हाकाहाकी शारीरिक सम्बन्ध राख्न नपाइने जानकारी दिइसकेकी थिइन् । फेरि रुजबेल्ट यौन सम्बन्धबिना बाँच्नै नसक्ने खालका थिए । नतिजा, मिस्सीसित अनायासै नजिकिन थाले । लुसीलाई मार्गबाट हटाउन लगाएर ढुक्क बनेकी इलेनोर लोग्ने र मिस्सीबिच बिकसित हुँदै गरेको नयाँ सम्बन्धबारे पूर्णत बेखबर बनिन् ।
यसैबिच सन् १९२१ मा रुजबेल्ट गम्भीर बिरामी परे । ज्वरो, अनुहार, मुत्राशय र आन्द्रा सुन्निन थाल्यो । पछि पोलियोले समात्यो । ज्यान त बच्यो तर कम्मरमुनिको अंग चलेन । बिमारीले लोग्नेको पुरुषत्व गुमेको हुनुपर्ने अनुमान इलेनोरको थियो । तर, चिकित्सकले पुरुषत्वमा कुनै खराबी नगरेको जानकारी दिएपछि इलेनोर लोग्नेको जीवनबाट पूर्णतः हटिन् । यो परिस्थितिले स्वभावतः रुजबेल्टको जीवन मिस्सीमाथि निर्भर हुन पुग्यो । अब मिस्सी मात्र उनको सचिवमा सीमित रहिनन् । सबैखाले सेवा दिन थालिन् ।
त्यसबेला रुजबेल्ट फाइडेलिटी एण्ड डिपोजिट कम्पनीका उपाध्यक्ष थिए, त्यहाँबाट वार्षिक २५ हजार डलर पाइराखेका थिए । त्यसबाहेक एमेट, मार्विन एण्ड रुजबेल्ट कम्पनीबाट वकालत पनि गर्थे । यी कामको सिलसिलामा बाहिर गइरहनु पथ्र्याे । गाडीबाट ओर्लन, भ¥याङ चढ्न र हिँड्न कसैको सहयोगबिना सम्भव नै थिएन । यी सबैमा सघाउने काम मिस्सीले नै गर्थिन् । रुजबेल्ट यी सबै काम मिस्सीकै सहयोगमा फत्ते गर्थे । त्यसो त उनी स्टिलको खुट्टा लगाउँथे, लौरो समाउँथे तर यी काम पनि मिस्सीको सहयोगबिना गर्न सक्दैनथे ।
यसरी उनको जीवनले चौबिसै घण्टा मिस्सीको सामिप्यता खोज्यो । मिस्सी पनि तनमनले रुजबेल्टको सेवामा समर्पित हुन थालिन् । रुजबेल्टको सबै आवश्यकता उनैले पूर्ति गर्दै गइन् । रुजबेल्टका खातिर परिवार, नातागोता, साथीसंगी सबैलाई बाइबाइ गरिन् । सन् १९२४ मा रुजबेल्टले लामोसमय् तातोपानी भएको समुद्रमाथिको नौकामा बिताए । उनी तातो स्पर्शबाट पोलियोलाई भगाउन चाहन्थे । यो यात्रामा पनि उनको साथमा मिस्सी नै गइन्, इलेनोरले एकदिन पनि साथ दिइनन् । रुजबेल्ट नौका बाहिर पानीमा पर्ने गरी खुट्टा झुण्ड्याएर घण्टौँ बस्थे, मिस्सी त्यो चर्को घाममा संगै उभिन्थिन् । रुजबेल्टप्रतिको उनको यसप्रकारको सेवा र भक्तिभाव देखेर सबै प्रभावित नरही बस्नै सकेनन् । उनलाई सबैले रुजबेल्टको जीवनको एक अभिन्न अंग नै मान्न थाले ।
मिस्सी खुशी थिइन् तर उनलाई भान्छे डोरा मारिसको चालामाला देखेर चिन्ता लाग्थ्यो । डोरा सधैं रुजबेल्ट र मिस्सीको सम्बन्धलाई लिएर शंका गरिरहन्थिन् । उनले इलेनोरको कान भरिदिने हो कि भन्ने डर लागिराख्थ्यो । उनी लुसीको घट्ना दोहा¥ेयाउन चाहन्न थिइन् । मिस्सी रुजबेल्टलाई औधी माया गर्थिन् । आफ्नो प्रेमीसँग जीवनको सबैखाले आनन्द उठाउन चाहन्थिन् । उता, इलेनोर फेरि पनि मिस्सीको कुरोलाई लिएर लोग्नेसँग बाझ्न खोज्थिन् तर हुर्किसकेका केटाकेटीले आमालाई रोक्थे । छोराछोरीले मिस्सी आफ्नो पिताको आवश्यकता बनिसकेको बुझेका थिए । झगडा भएमा आफूहरूले पिताको पक्ष लिने चेतावनी आमालाई दिइसकेका थिए ।
सन् १९२८ मा डेमोक्रेटिक पार्टीको सम्मेलनमा धेरैले रुजबेल्टलाई राष्ट्रपतिको उम्मेदवारमा दाबी गर्न उक्साए तर रुजबेल्टले न्युयोर्कको राज्यपालमा रुचि लिए । राज्यपालको चुनावमा विकलांगताको बाबजुद यति धेरै खटे कि त्यो देख्न नसकेर मिस्सीले यो चुनाव त तपाईंले हारेकै राम्रो हुन्छ भनिदिइन् । तर चुनाव उनैले जिते । गभर्नर बनिसकेपछि सुखभोग गर्न भने इलेनोर लोग्नेसँग बस्न पुगिन् । किनभने राज्यपाल भवन सबै सुविधाले सम्पन्न थियो । तर, रुजबेल्टले उठ्न मिस्सीकै सयोग लिन्थे । दुवैका कोठाको बीचमा सार्न मिल्ने सिसा थियो ।
मिस्सी छोराछोरीकै अगाडि नाइट गाउन लगाएर रुजबेल्टको कोठामा ओहोरदोहोर गर्थिन् । कहिलेकाहीँ रुजबेल्टको काखमै बसिरहेका बखत केटाकेटी कोठामा पुग्थे । रुजबेल्ट र मिस्सीको सम्बन्ध यसरी कसैबाट पनि लुकेन । यसको बावजुद उनीहरूको सम्बन्धलाई कसैले फोहरी टिप्पणी पनि गरेनन् । कतै बाहिर जाँदा गाडीमा रुजबेल्टसँगै मिस्सी हुन्थिन्, दुबैजनाको खुट्टा एउटा कपडाले छोपिएको हुन्थ्यो । मिस्सी पनि ३० वर्षको भइसकेकी थिइन् । उनी रुजबेल्टसितको आफ्नो सम्बन्धलाई खुलेर स्वीकार्थिन् । सन् १९३२ मा रुजबेल्ट राष्ट्रपति पदको उम्मेदवार बने ।
विकलांगताको बावजुद १३ सय् माइलको यात्रा गरे र ती यात्रामा मिस्सीले कहिल्यै एक्लै छाडिनन् । निर्वाचन जित्दा सबैभन्दा पहिला उनैले चुम्बन गरेर बधाइ दिइन् । राष्ट्रपतिमा निर्वाचित भएपछि उनको परिवार राष्ट्रपति निवासमा बस्न गयो । मिस्सी उक्त निवाससित जोडिएको अर्को घरमा बसिन् । तर साताको सातै दिन उनी रुजबेल्टसँगै हुन्थिन् । उनी र रुजबेल्टको कार्यालय जोडिएको थियो । रुजबेल्ट आफ्नो कार्यालयतर्फ जाँदा मिस्सीको कार्यालयतिर अवश्य हेर्थे, मिस्सीलाई देखेनन् भने तुरुन्त बोलाउन लाउँथे । मिस्सी दिनभर उनको आदेश सुन्थिन् र राति त्यसउपर छलफल गर्थिन् । उनको अनुमतिबिना कोही पनि राष्ट्रपतिसम्म पुग्न पाउँदैनथे । भोजन र बाह्य कार्यक्रम सम्पूर्ण उनैले हेर्थिन् ।
रुजबेल्ट र जोन एफ. केनेडी असल मित्र थिए । रुजबेल्टले केनेडीका पिता जो केनेडीलाई राजदूत बनाएर बेलायत पठाइदिए तर जो बेलायती अभिनेत्री ग्लोरिया स्वानसनसँग फस्न पुगे । रुजबेल्टले ग्लोरियासितको सम्बन्ध त्याग्न भन्दा जोको जवाफ थियो– तपाईंले मिस्सीसितको सम्बन्ध त्याग्नुस् म पनि ग्लोरियासितको सम्बन्ध त्याग्छु । रुजबेल्टले जोलाई स्वदेश फिर्ता बोलाए । एयरपोर्टमा लिन मन्त्रीलाई नपठाई मिस्सीलाई पठाइदिए । जोले बुझे कि रुजबेल्टले उनीसित बदला लिएछन् । दोश्रो विश्वयुद्धको समय रुजबेल्ट नै राष्ट्रपति थिए । गर्मीको समय, राष्ट्रपति भवनमा रात्रीभोज चलिरहेको थियो । भोजकै दौरान मिस्सीलाई पक्षघात भयो । औषधि उपचारले कामै गरेन । उनलाई वार्म स्प्रिङ्स लगियो, रुजबेल्ट पनि पछिपछि गए । यसबीच जापानले पर्लहार्बरमाथि आक्रमण गरेका कारण आपातकालीन बैठक बस्न रुजबेल्ट राजधानी फर्कनु प¥यो । मिस्सीले मन नमानीनमानी उनलाई बिदा गरिन् । त्यसदिन डायरीमा यसरी लेखिन्, ‘आज मलाई उनलाई बिदा गर्दा रुन मन लाग्यो, मेरो कारण होइन, अब उनले भोग्नुपर्ने एक्लोपनलाई सम्झेर ।’
रुजबेल्टलाई एउटा सम्मेलनमा भाग लिन होनोलुलु जानुपर्ने भयो । यसैबीच, मिस्सीलाई पक्षघातले दोश्रो पटक आक्रमण गर्यो । तत्काल उनको निधन भयो । उनी ४६ वर्षकी थिइन् । खबर चारैतिर फैलियो । यो खबर सुनेर रुजबेल्टका छोराको मुखबाट अनायस निस्क्यो, ‘अब मेरो बाबाको के हुन्छ ?’ हुन पनि मिस्सीको मृत्युको खबरले रुजबेल्टको अवस्था गम्भीर बन्यो । उनले आफूलाई असहाय महसुस गरे । अस्वस्थ हुन थाले । यस्तो अवस्थामा पनि इलेनोरले आफ्नो लोग्नेको ख्याल गरिनन् । रुजबेल्टको निधन मिस्सी देहान्त भएको ८ महिनापछि ६३ वर्षको उमेरमा सन् १९४५ को अप्रिल १२ मा भयो । उनी मिस्सीलाई कति माया गर्थे भन्ने कुरो उनको इच्छापत्रले देखाउँछ । उनले आफ्नो सबै सम्पत्तिको आधा मिस्सीको उपचारमा र आधा इलेनोरलाई दिने लेखेका थिए । मिस्सीको मृत्युपश्चात् पनि उनले यो इच्छापत्रमा कुनै फेरबदल गर्न मानेनन् ।
टिप्पणीहरू