सडक र यात्रु दुबैको अवस्था बिजोग

सडक र यात्रु दुबैको अवस्था बिजोग

दशैंको आगमनसँगै अधिकांश आफ्नो थातथलो फर्किने चटारोमा देखिन्छन् । गाउँघर फर्किनेको संख्या केही दिनयता ह्वात्तै बढेको छ । रोजगारीका लागि भारत पुगेकाहरु पनि धमाधम घर फर्किरहेका छन् । दशैंलाई लक्षितगरी यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ्ग खोलेको छ । 

यसवर्ष झण्डै १८ लाखले काठमाडौं छाड्ने अनुमान छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म झण्डै चार लाखले उपत्यका छाडिसकेका छन् । तर दशैंको पूर्वसन्ध्यामा उत्पन्न प्राकृतिक विपद्ले अधिकांश सडकको अवस्था क्षतविक्षत् छ । 

मुलुकका मुख्य राजमार्ग अवरुद्ध छ । केही राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । कतिपय राजमार्ग दशैंअगाडि सञ्चालनमा आउन सम्भव नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । तत्काल खुल्न नसक्ने सडकको हकमा वैकल्पिक व्यवस्था गरिएको छ । 

जताततै बाढीपहिरो गएका कारण यात्रुलाई यसपटक घर जान सकस देखिन्छ । यातायात व्यवसायीले लापरबाही गरिरहेका छन् । यात्रुको ज्यान जोखिममा हालेर सवारी साधन गुडाइएको छ । एकातिर सडकको अवस्था बिजोग हुँदा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ भने अर्कोतिर यात्रु छतमा बसेर, ढोकामा झुण्डिएर यात्रा गर्न बाध्य छन् । 

सीट क्षमताको तेब्बर यात्रु हालिएको पाइएको छ । विभागले सीट क्षमताभन्दा बढी यात्रु नहाल्न, अनिवार्य दुई जना चालक राख्न, बढी भाडा नअसुल्न, लापसे र मापसे नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । तर, उनीहरुले टेरेका छैनन् । 

दयनीय सडकमा ढोकैसम्म झुण्ड्याएर यात्रा गराइरहेका छन् । सरकारले छतमा राखेर यात्रा गराउन रोक लगाएको छ । तर, अनुगमन फितलो हुँदा यातायात व्यवसायीले जहाँ सकिन्छ, त्यहाँ यात्रु खाँदेका छन् । यातायात व्यवसायीले यो वर्ष पनि चाडबाडलाई कमाउने सिजनको रुपमा लिएका हुन् । 

यतिबेला उनीहरुले सकेसम्म बढीभन्दा बढी यात्रु हाल्न खोज्छन् । सीट खालि छ भन्दै टिकट बेचेर आफूहरुलाई झुक्काएको अधिकांश यात्रुको आरोप छ । २५ जनाको सीट क्षमता भएको गाडीमा दोब्बर तेब्बर खाँदिएको पाइएको छ ।

मुढा राखेरसमेत यात्रा गराइएको छ । तर, नियमनकारी निकाय भने आँखामा पट्टी बाँधेर बसेको भान हुन्छ । ठाउँ–ठाउँमा प्रहरी सहायता कक्ष राखिएपनि गाडीहरुमा खासै अनुगमन गरिएको पाइँदैन । श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदैव जैसीले आफूले घर जाँदा बसमा भोगेको अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन् । 

४० सीटको डिलक्स बसमा १३० जना खाँदेर लगिएको उनको भनाइ छ । उनले लेखेका छन्,‘आज उभिएरै १६ घण्टा यात्रा हुने भो । ४० सिट भएको डिलक्स गाडीमा करिब १३० जना यात्रुलाई सीट छ भनेरै टिकट काटेर सीटमा बसेका बाहेक बाँकी करिब ६ दर्जन यात्रु उभिएर यात्रा गर्न बाध्य छन् । यसरी उभिएर यात्रा गर्ने अवसर आफूलाई पनि मिलेको छ । क्याबिनमा ६ सीट छ तर १३ जना राखेपछि ड्राइभर कहाँ बसेर चलाइरहेको छ, खोज्नुपर्ने अवस्था छ । कठै मेरो देश !’

त्यस्तै, उनले गृहमन्त्री रमेश लेखकको पनि ध्यानाकर्षण गराएका छन् । गाउँघर फर्किनेहरुले सामाजिक सञ्जालमार्फत त्यसैगरी आफ्नो दुःखेसो पोखिरहेका छन् । नागरिकका लागि सरकार नभएकाले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै उनीहरुले टिकाटिप्पणी गरिरहेका छन् । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारबाट कुनै अपेक्षा नराख्न सुझाएका छन् । उनले भनेका छन्,‘यातायात व्यवसायीहरुले त बढीभन्दा बढी फाइदा खोज्छन् । त्यही भएर उनीहरुले कोचाकोच गरेर यात्रु लैजाने गर्छन् । तर, सार्वजनिक यातायात कसरी चलिरहेका छन्, त्यसको नियमन गर्ने कार्य त सरकारको हो नि । यहाँ त सरकार मस्त निन्द्रामा सुतिरहेको छ । नेपालमा नागरिकले सरकारबाट केही आशा नगरी, आफ्नो सुरक्षा आफैंले गर्नुको अतिरिक्त कुनै विकल्प छैन ।’

सामाजिक सञ्जालमा लेखिएको छ,‘दशैंको यो बेलालाई यातायात व्यवसायीले उच्च आम्दानी गर्ने सिजनका रुपमा लिन्छन् । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्छन् । सवारीभित्र यात्रुको सरसामान खाँद्ने, ढोकामा झुण्ड्याउने मात्र होइन्, छतमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन् । यसरी क्षमताभन्दा बढी यात्रु ओसार्नु नै दुर्घटनाको पहिलो कारण भएकाले सावधानीपूर्वक यात्रा गर्नु अति आवश्यक छ । सचेत बनौं ।’

दुर्घटनाको बढ्दो जोखिम 

वर्ष दिनमा एक पटक आउने चाड मनाउन लाखौं घर जान्छन् । वर्षभरि भेटघाट नभएका परिवारजन एकैठाउँ भेला हुन्छन् । गाउँघरमै चाडबाड रमाइलो हुने भएकाले पनि घर जान खोजिन्छ । तर, हरेक वर्ष एउटै चिन्ताले यात्रुलाई सताउने गर्दछ : सडक र सवारी साधन । दशैं ढोकैमा आइसक्दा पनि सरकारले सडक मर्मत सकाएको हुँदैन । यो वर्ष त्यसमा विपद् थपिएको छ ।

यात्रुले कहिलेपनि सहज रुपमा घर जान पाएका छैनन् । जोखिम मोल्दै घर जानुपर्ने बाध्यता हरहमेशाकै हो । यो वर्ष बाढीपहिरोले झनै जोखिम बढाएको छ । सडक ध्वस्त छन् । सडकको अवस्थाबारे जानकार हुँदाहुँदै पनि यातायात व्यवसायीले यात्रुको ज्यानमाथि खेलबाड गरिरहेका छन् । गाडीको क्षमताले नधान्नेगरी यात्रु बोकेर दौडिएका छन् । जसले दुर्घटनालाई प्रश्रय दिइरहेको छ । 

१०३ मा सम्पर्क गर्न सकिन्छ : ट्राफिक प्रहरी 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले गाडीहरुको अनुगमन भइरहेको बताए । काठमाडौं उपत्यकाभित्र १४ ठाउँमा यात्रु सहायता कक्ष राखिएको उनले जानकारी दिए । सादा पोशाकमा पनि प्रहरी खटाइएको बताइन्छ । त्यस्तै, बढी भाडा लिने, सीटभन्दा बढी यात्रु हाल्ने चालकलाई कारबाही गरिरहेको उनको दाबी छ ।

‘हामीले निरन्तर अनुगमन गरिरहेका छौं । सादा पोशाकमा प्रहरी खटाएका छौं । १४ स्थानमा प्रहरी सहायता कक्ष राखेका छौं । दैनिक एकाध कारबाहीमा परिराखेका छन् । एकैदिन ६ वटा गाडीका चालक र सहचालकलाई कारबाही गर्यौं’,उनले भने । त्यसैगरी प्रवक्ता कार्कीले कसैले बढी भाडा लिएमा, सीटभन्दा बढी यात्रु हालेमा १०३ मा खबर गर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू