रेशम चौधरी र रञ्जिता मिलेपछि कुरो अर्कैतिर

रेशम चौधरी र रञ्जिता मिलेपछि कुरो अर्कैतिर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको बेमेल हटेपछि राजनीतिमा नयाँ संकेत देखिन थालेको छ । असोज ८ गते मिलन सन्देश जारीपछि संयुक्त बैठक बोलाएका रेशम र रञ्जिताले सरकारमा पार्टीको गर्विलो उपस्थिति खोज्न थालेका छन् ।

सरकारमा यतिखेर नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्री छन् । तर उनलाई कुनै जिम्मेवारी नदिइएको उल्लेख गर्दै रेशमले आपत्ति जनाउँदै आएका छन् । आज आफ्नो जन्मदिनमा सार्वजनिक गरेको भिडियो सन्देशमा रेशमले प्रधानमन्त्रीको व्यवहार यस्तै रहेमा दशैँपछि सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । 

‘अधिकार दिनुहोस्, जनताको बीचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठूला दलले सुनिरहेको अवस्था छैन’, उनले भनेका छन्, ‘ठूला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ, दशैँपछि हामी सहभागी हुन्नौं ।’

आफ्नो पार्टी सरकारमा हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने वातावरण बनाउन नदिएको रेशमको गुनासो छ । जनताको मागलाई ध्यानमा राखेर सरकारमा सहभागी भएको दावी गर्दै भनेका छन्, ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुने होइन, जनताको मागले गर्दा मात्र प्रदेश र संघमा गएका हौँ ।’

रेशमले ठूला दलहरुको अपमानित व्यवहार अब नसहने बताएका छन् । पार्टी एकीकरणमा लागेको जानकारी गराउँदै भने, ‘यहाँ ठूला दलहरुबाट साना दललाई जुन किसिमको व्यवहार भइराखेको छ, त्यो अब सहेर बसिरहन सकिँदैन ।’

उता अध्यक्ष रञ्जिताले पनि पार्टी नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न आग्रह गरेकी छन् । कुनैपनि नेता तथा कार्यकर्ताले पार्टीलाई अहित हुनेगरी अमर्यादित र गैरकानुनी काम गरे कारवाहीको चेतावनीसहितको सर्कुलर जारी गरेकी छन् । 

नाउपाले दशैँपछि सरकारबाट बाहिरिने चेतावनी दिइरहँदा जनमत पार्टीको मनसाय पनि उस्तै रहेको बताइन्छ । जनमत वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । एकातिर सरकारलाई समर्थन गरेको अर्कोतिर जिम्मेवारी नपाएको अवजस्थामा जनतामा जाने बाटो बन्द रहेको जनाउँदै पार्टीभित्र असन्तुष्टी देखिन थालेको छ । स्वयम् पार्टी अध्यक्ष डा. सिके राउत पनि राजनीतिक परिस्थितिबारे आन्तरिक छलफलमा लागेको बताइन्छ ।
 

टिप्पणीहरू