उद्धारमा डुंगा छैन, गोदाममा डंगुर

उद्धारमा डुंगा  छैन, गोदाममा डंगुर
सुन्नुहोस्

दैवी प्रकोपका घटनामा फ्रन्टलाइनमा रहेर काम गर्ने निकाय हो प्रहरी संगठन । नेपाल प्रहरीले एसएसपीको कमाण्डमा विज्ञ टोली स्ट्याण्डबाई राखेको हुन्छ । तर, महाविपत्तिका बेला सबैभन्दा अगाडि खटिने फौजलाई राज्यले न पूर्णरूपमा स्रोत साधन सम्पन्न बनाउन सकेको छ, न उनीहरूले पर्याप्त तालिम पाएका छन् ।

डोरी, डुंगा, लाइफ ज्याकेट, टर्चलाइटजस्ता न्यूनतम उद्धार सामग्रीसमेत राज्यले आवश्यक मात्रामा उपलब्ध गराउन सकेको छैन । विपद व्यवस्थापन प्राधिकरणको गोदाममा ५० वटा डुंगा त्यसै थन्काएर राखिँदा नेपाल प्रहरी र सशस्त्रसँग अहिले दुई–दुई वटा मात्र डुंगा छ । उद्धार कार्यमा अत्यावश्यक मानिने हेलिकोप्टर दुबै प्रहरी संगठनसँग छैन । 

फ्रन्टलाइनमा खटिने फौजले स्रोत साधनको अभावका कारण उद्धार कार्यमा कठिनाइ भोगिरहँदा नेपाली सेनासँग भने ४० वटा डुंगा र केही हेलिकोप्टर छन् । जबकि प्रहरीलाई जस्तो खबर गर्नेबित्तिकै फुत्त निस्कनुपर्ने बाध्यता सेनालाई हुँदैन । सुरक्षा परिषद्को सिफारिस र क्याबिनेटको निर्णयका आधारमा राष्ट्रपतिले देशभर एकैचोटि ठूलो स्केलमा ‘सेना परिचालन’ गर्ने भएकाले सेना खटाउने प्रक्रिया आफैँमा लामो र झन्झटिलो छ । 

‘खोज्दै जाँदा विपद व्यवस्थापन प्राधिकरणसँग ५० वटा डुंगा रहेछ । त्यहाँबाट २० वटा ल्याएर काम चलाइयो’, उच्च प्रहरी स्रोत भन्छ, ‘फिल्डमा खटिने फौजसँग डुंगा छैन, उता कुहाएर राखेका रहेछन् ।’ अर्कोतिर, आपतकालीन अवस्थामासमेत प्रहरीले तत्काल उद्धार सामग्री पाउँंदैन । प्राधिकरणसँग डुंगा माग्दा गृहमन्त्रीको निर्देशन कुर्नुपरेको प्रहरी स्रोत बताउँछ । 

शनिबार राति ३ बजेतिर मेडिसिटी अस्पतालका मालिक उपेन्द्र महतोले उद्धार माग्दै सशस्त्र प्रहरीलाई फोन गरेका थिए । तर, डुंगा अभावका कारण छुट्टै टोली खटाउन नसकेपछि कुसुन्तीमा उद्धार गरिरहेको टोलीका केहीलाई त्यता पठाइयो । तर, बीचैमा बाढीले डुंगा बगाउँदा चार जना प्रहरी पनि डुबे । दुई किलोमिटर तल पुगेका उनीहरू विशेष तालिमप्राप्त नभएको भए ज्यान जाने अवस्था थियो । 

कागजमा सबै तयारी छ, तर व्यवहारमा शून्य– काठमाडौँ उपत्यकासहित देशभर आएको बाढीपहिरो र डुबानपछि उद्धारमा खटिएको सुरक्षा फौजले यस्तो पीडा भोग्नुपर्‍यो । गत बिहिबारदेखि तीन दिनसम्म परेको लगातारको वर्षाले काठमाडौं उपत्यकाका थुप्रै स्थान डुबानमा परे । कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा खसेको पहिरोले दर्जनौँ बस्ती बगायो । देशका मुख्य राजमार्ग अवरूद्ध भए भने हवाई माध्यमसमेत ठप्प हुन पुग्यो । काठमाडौँ उपत्यका छिर्ने नाकाहरू अझै पूर्णतः सुचारु भैसकेका छैनन् । 

बाढीपहिरो र डुबानमा परी दुई सयभन्दा बढीको ज्यान गएको छ भने खर्बौंको भौतिक पूर्वाधार र निजी सम्पत्ति ध्वस्त भएको छ । केही मानिस अझै बेपत्ता छन् । काठमाडौँ उपत्यकामै यति ठूलो मानवीय क्षति हुँदा दैवी प्रकोप व्यवस्थापनमा राज्यको पूर्वतयारी भने टिठलाग्दो देखिएको छ । 

यसपटक अधिक वर्षा र विपत्तिको चपेटाबारे पूर्वानुमान गरिएको थियो । एक साताअघि नै मौसम पूर्वानुमान महाशाखा र मौसमविज्ञहरूले सम्भावित अवस्थाबारे सतर्क गराएका थिए । तर, जोखिम न्यूनीकरण र खोज तथा उद्धारमा राज्यका तर्फबाट पर्याप्त पूर्वतयारी नहुँदा उद्धारको पर्खाइमा कुर्दाकुर्दै कयौँले अकालमा ज्यान गुमाउनुपर्‍यो । कतिसम्म भने सिंहदरबारबाट केही किलोमिटरको दूरीमा फसेका नागरिकलाई समेत राज्यले उद्धार गर्न सकेन । 

विपदजन्य घटनाबाट श्रृजित जोखिम न्यूनीकरण तथा खोज र उद्धारका लागि एकीकृतरूपमा जनशक्ति परिचालन गर्ने जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई छ । गृह मन्त्रालयका सहसचिव नेतृत्वको यो निकायले विपदलगत्तै राज्यका संयन्त्रहरू परिचालन गर्छ । मुख्यतः नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिन्छन् । तीनवटै सुरक्षा निकायसँग आफ्नै विज्ञ टिम पनि छ । तर, सरकारले उनीहरूलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन नसक्दा काठमाडौँ उपत्यकामै खोज तथा उद्धार कार्य प्रभावकारी हुन सकेन । 

राजधानीको मुटुमै खोज तथा उद्धारमा प्रहरीले भोगेको यो कठिनाइले अब उसलाई हेलिकोप्टर जरुरी भैसकेको देखिन्छ । दैवी प्रकोपका बेलामात्र होइन विदेशमा दंगा नियन्त्रण गर्न पनि हेलिकोप्टर प्रयोग गरिन्छ । हुन त सेनाको हेलिकोप्टर त दुरूपयोग गरेर नेताहरू निस्फिक्री घुम्छन् भने प्रहरीको पाए झन् के गर्लान् भन्ने प्रश्न पनि छ । 

जोखिम न्यूनीकरण पूर्वतयारीमा सरकारको उदासीनतासँगै आम नागरिक, मौसमविद, यससम्बन्धी विज्ञलगायत सरोकारवालाहरूको पनि भूमिका प्रभावकारी देखिएन । यत्रो क्षतिको आंकलन गरेको मौसम पूर्वानुमान महाशाखाले संधैजस्तो वक्तव्य जारी गरेर झारा टार्दा पर्याप्त प्रचारप्रसार हुन सकेन । सञ्चारकर्मीलाई बोलाएर पत्रकार सम्मेलन गरी आम तहसम्म सूचना सम्प्रेषण गर्न सकेको भए सायद अहिलेको भन्दा कम क्षति हुने थियो । विज्ञहरूले ‘भारी वर्षा’को पूर्वानुमान त गरे तर, कति मिलिलिटरसम्म पानी पर्छ भन्ने ठोस जानकारी गराएनन् । 

यस घटनामा नागरिकको हेल्चेक्र्याइँ पनि उत्तिकै जिम्मेवार देखिन्छ । किनभने एक साता अघिबाटै सरकारले उच्च सतर्कता अपनाउन सूचना गरेको थियो । नाइट बस नचलाउन, लामो दूरीको यात्रा नगर्न, नदी किनार र तटीय क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू