प्राकृतिक विपदमा सिडिओ स्वयम् स्वास्थ्य आपतमा

प्राकृतिक विपदमा सिडिओ स्वयम् स्वास्थ्य आपतमा

गत सोमबार दिउँसो उमेशकुमार ढकाल प्रमुख जिल्ला अधिकारी सरुवा भएको जिल्ला काभ्रेपलाञ्चोकमा हाजिर भए । मंगलबार बिहान आफ्नै अध्यक्षतामा विपद ब्यवस्थापन सम्बन्धी पहिलो बैठक डाके । पाँच दर्जनभन्दा बढीको निधन र २० भन्दा धेरै बेपत्ता भएको अवस्था, अर्बौंका संरचना क्षतिग्रस्त भएको बेलामा ढकाल सामुन्ने चुनौती र अवसर दुबै देखिन्छ ।

उनी आफू बस्ने जिल्ला प्रशासन कार्यालयको अस्थायी टहरा पनि जोखिममा छ । अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड विस्तारका क्रममा अन्धाधुन्ध खनिएको भित्तोका कारण गत वर्षदेखि नै जिल्ला प्रशासनको सेवा प्रवाह हुने स्थान जोखिममा छ । आफैं जोखिममा रहेर सेवा दिनपर्ने अवस्थाबाट ढकालको कार्य प्रारम्भ भएको छ ।

तत्कालीन जिल्ला विकास समितिले भूकम्पपछि निर्माण गरेको अस्थायी टहरामा प्रशासन कार्यालय छ । लामो समय भाडामा रहेको प्रशासनलाई टहरामा तत्कालीन समन्वय प्रमुख उद्धव केसीले राखेका थिए । आफ्नै भवनमा मुद्दाका कारण अवरोध पुगेको छ । १० वर्षपछि फैसला भएको मुद्दाको पूर्ण पाठ छ महिना नाघेपनि आएको छैन । तत्काल ठेक्का लगाएर निर्माण प्रक्रिया अघि बढाइएपनि गति लिन सकेको देखिँदैन । रुद्रादेवी शर्माका पालामा फैसला भए पनि पूर्ण पाठ नआउँदा कार्य अघि बढ्न नसकेको हो ।

त्यसपछि सूर्यप्रसाद सेढाई प्रमुख जिल्ला अधिकारी भए । पूर्ण कार्यकाल नपुग्दै उनको सरुवा भयो । दुई महिना लामो बिरामी बिदा लिएका उनी विपदमा जिल्लामा थिएनन् । उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका उनको घाँटीमा मासु पलाएको बताइन्छ ।

शुरुमा माछाको काँडा अड्किएर धुलिखेल अस्पतालमा उपचार गरेका सेढाईले असार २६ गतेदेखि दुई पटक मात्रै कार्यालय टेके । केही समय घरबाटै कार्यालय सञ्चालन गरे । अन्ततः सरकारले असोज ११ गतेदेखि परेको अविरल वर्षातबाट क्षति भएको काभ्रेपलाञ्चोक जिल्लाको विपदपछिको अवस्था सम्हाल्न ढकाललाई सरुवा गरेको हो । नागरिकहरुका भत्किएका संरचनादेखि आफ्नै कार्यालय निर्माण गर्नेसम्मको चुनौती ढकालको काँधमा छ ।

विपदमा काभ्रेमा जनधनको ठूलो क्षति भएको छ । पाक्न लागेको धान र मकैलगायत अन्नबालीहरु नष्ट भएका छन् । उब्जाउ जमिन खण्डहर बनेको छ । भूकम्पपछि पुनर्निर्माण गरिएका घरहरु पुरिएका छन् । विशेषगरी जिल्लामा ढुंगा, बालुवा खानीजन्य क्षेत्र धेरै प्रभावित बनेको छ । खानी आसपासका क्षेत्रबाट बगाएको धुलोको लेदोले सयौं घर पुरिएका छन् भने केही बगेको छ ।

नागरिकहरु अझै पुरिएको आशंका छ । दुर्गम भेगमा सञ्चार सम्पर्क स्थापित भएको छैन । बिजुलीका सयौ पोल ढलेका छन् । सडकका सबै संयन्त्रहरु भत्किएका छन् । राजमार्गमध्ये सबैभन्दा धेरै विपी राजमार्गमा क्षति पुगेको छ । विपत्तिपछिको उद्धारमा नेताहरुले घृणित राजनीति गरेको स्थानीयको आरोप छ । केहिले हेलिकोप्टर स्टन्ट गरे पनि पीडित नागरिक असोज ११ गते शुक्रबारदेखि मंगलबारसम्म सडकमा नै बस्न बाध्य भएका थिए ।

त्रासदीको एउटा उदाहरण :

पनौती नगरपालिका वडा नम्बर १ र्‍याले न्युरेखोला घर भएकी शान्ति सापकोटा पहिरोमा घाइते भएकी छन् । करङ्ग भाँचिएको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई दुई दिनपछि स्थानीयको सहयोगमा धुलिखेल अस्पताल ल्याइएको हो । आँखै अगाडि पुरिएका दुई छोरी सम्झँदा अस्पतालमा उपचाररत शान्तिमा थप पीडा हुने गरेको छ ।

असोज ११ गते दिउँसोदेखि ठूलो पानी परिरहेको थियो । वर्षाले घरहरु जोखिममा पर्ने आकलन गरिएको थियो । शान्ति र उनका श्रीमान कान्छा दाजु भाउजुकोमा सुत्न गए । दुई छोरीहरु ३० वर्षे सबिता र २५ वर्षे शर्मिला केही नहुने बताउँदै घरमै सुते । रातभर पानी, चट्याङ्ग र हावाहुरी चलिरह्यो । असोज १२ गते बिहानै शान्ती र उनकी जेठानी भक्ति उठेर बाहिर निस्के ।

ठूलो पानीमा छोरीहरु बोलाउन शान्ति घर जाँदै थिइन् । उठेर दौडिरहेका छोरीहरुलाई घर माथीबाट आएको पहिरोले बगायो । घर पनि बगायो । शान्तिलाई समेत पहिरोले थिच्यो । भक्ति र उनका श्रीमान हेरेको हेर्यै भए । चारैतिरको भाग पहिरोले बगायो । बारीसमेत बाँकी रहेन । घाइते शान्तीलाई तत्काल अस्पताल पुर्याउन सम्भव थिएन । दिनभर पुरिएका छोरी र घाइते देवरानी हेरेर आफू बसेकोे भक्तिले बताइन् ।
असोज १३ गते स्थानीयको सहयोगमा बाँसको स्ट्रेचर बनाएर शान्तिलाई कुशादेवीको पुच्छरीसम्म ल्याएर मिनी टाटामा अस्पताल पुर्याइयो । शान्तिकी छोरी सविताको चार वर्षका छोरा छन् । उनका बाबु केहि वर्षदेखि नै बेपत्ता भएकाले चार वर्षे बालक टुहुरो भएका छन् ।

शर्मिलाको विवाह भएको थिएन । शान्तिका छोरा वैदेशिक रोजगारीका लागि केहि महिनाअघि मात्रै विदेशिएका छन् । र्यालेकै माइली सापकोटालाई पनि गोठमा आगो बाल्ने क्रममा गोठसहित बगायो । उनको शव फेला परेको छ । गोठमा भएका ११ वटा पशु बगाएका छन् । पनौती वडा नम्वर १, २, ३, ४, ८,९, १० ११ र १२ मा ठूलो क्षति भएको छ ।

वडा नम्बर १२ मा खानी र क्रसरका कारण धेरै बस्ति जोखिममा परेका हुन् । खानीबाट बगाएको लेदोले बस्ति र खेतियोग्य जमिन सबै पुरिएका छन् । खानीका मेशिन, ट्रिपरहरु पनि बगाएका छन् । पुल, सडक, स्वास्थ्य भवन, विद्यालय तथा व्यक्तिका निजी सम्पत्ति धेरै बगााएको अवस्था छ ।

पनौती वडा नम्बर १२ लगभग तहसनहस भएको छ । ११ नम्बरको थुम्की डाँडो बगेको छ । बेपत्ता भएका एकाघरका चार जनामध्ये दुई जनाको मात्रै शव फेला परेकोा छ । विद्युतगृह पनि बगाएको छ । जिल्लाको सबैभन्दा धेरै खानी भएको क्षेत्र त्यहि हो ।

उता बेथान्चोक गाउँपालिकामा पनि ठूलो क्षति भएको छ । खानी क्षेत्र आसपास चार जना पुरिएका छन् । वडा नम्वर ३ को कामिखोरिया टोलमा आमाछोरी बेपत्ता छन् । च्यासिङ्गखर्कमा एक जना पुरिएको बताइन्छ । भौतिक क्षतिको यकिन गर्न कठिन रहेको अध्यक्ष भगवान अधिकारीले बताए । बेथान्चोकमा बेपत्ता नागरिकहरु खोज्ने क्रम अझै जारी छ ।

प्रहरी चौकीसमेत असुरक्षित भएपछि प्रहरीहरुलाई हतियार जोगाउन हम्मे हम्मे परेको थियो । उद्धारमा खटिएका प्रहरी नै पहिरोमा परेका छन् । मुख्य सडक र सहायक सडकहरु अवरुद्ध छन् ।

बनेपा नगरपालिकामा पनि चार जनाको निधन भएको छ । धुलिखेल नगरपालिकाका विभिन्न वडामा नागरिकको ज्यान गएको छ । पहिरोका कारण सडक अवरुद्ध छ । भौतिक सरचना र व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । अधिकांश ग्रामीण भेग सडक र सञ्चार सम्पर्कभन्दा बाहिर छन् । बेथान्चोकमा १६ जनाले ज्यान गुमाए ।

मण्डनदेउपुर नगरपालिकामा दुई जनाको ज्यान गएको छ । अरनिको राजमार्गको वैकल्पिक मार्ग जिरोकिलोदेखि कुन्ता हुँदै नगरकोट भक्तपुर सडक पनि अवरुद्ध छ । पाँचखाल र महाभारतमा मानवीय क्षति भएको छैन । खानीखोलामाा एक जनालाई खोलाले बगाएको छ ।

चौरीदेउराली गाउँपालिकामा एकै घरमा तीन जना पुरिएका छन् । भुम्लुमा दुई जनाको ज्याान गएको छ । तेमाल गाउँपालिकामा एकै घरका आठ जना सहित १२ ले ज्यान गुमाएका छन् । अझै केही बेपत्ता रहेको बताइन्छ । पुरिएकाहरुको उद्धार हुन सकेको छैन । तेमालमा रहेको बृहत खानेपानीको संरचना बगाएको छ । विद्युत अवरुद्ध छ ।

नमोबुद्ध गाउँपालिकाको कानपुर र श्यामपाटीमा चार जना पुरिए । केही बेपत्ता छन् । नमोबुद्धमा सञ्चालित खानेपानी आयोजना सबैमा क्षति पुगेको छ । रोशी र नमोबुद्ध हुँदै महाभारत जाने पक्की पुल बगेको छ ।
विपी राजमार्ग क्षतविक्षत भएको छ । रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडक कटानका साथै नार्के बजार बगेको छ । बजार आसपासको क्षेत्र सबै बगर भएको छ । रोशी गाउँपालिकामा हिजो साँझसम्म ११ जनाको निधन भएको बताइन्छ ।

बाढी र पहिरोले १५ शैयाको अस्पताल र फलामेसाँघु बजार, पोटादोभान खेलग्राम, थसिङबेशी पक्किपुल, नार्के बजार पूरै बस्ती, डम्फू पार्क, औद्योगिक ग्रामलगायतमा पूर्ण क्षति भएको छ । सयौ व्यक्तिका घर ढलेका छन् । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण सरकारी भवनहरु संकटमा परेका छन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, सञ्जिवनी स्कुल, माउन्ट प्रिन्सेस होटल, कृषि विकास कार्यालय, कालीजंग गण धुलिखेल, धुलिखेल खेल मैदान, धुलिखेल क्याम्पसलगायत संरचनामा क्षति पुगेको छ ।

त्यस्तै सयौ पशुपंक्षी पुरिएका छन् । पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख पशु विकास अधिकृत डा.निशान्त शर्मा गेलालका अनुसार तत्काल घाइते पशुपंक्षीको उद्धार, उपचार र मारिएका पशुहरु गाड्न पशु सेवा प्राविधिकहरु परिचालन गरिएको छ । सम्भव भएका स्थानमा पशु भेटनरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको डा. गेलालले जानकारी दिए । तत्काल किसानलाई राहतका लागि सरकारसँग अनुरोध गरिएको छ ।

पनौतीको वडा नम्बर १२, २ र ३, बेथान्चोकको ४ र ५, रोशी गाउँपालिकाका विभिन्न वडाहरु, विपी राजमार्ग असपासका क्षेत्र, नमोबुद्धका केही स्थानमा राखिएका क्रसर र खानीका कारण मानवीय र भौतिक क्षति धेरै भएको प्रारम्भिक अध्ययनले देखाएको छ । खानी र क्रसरले अन्धाधुन्ध प्रयोग गरेका जमीनको संरचना खल्बलिएपछि आएको पहिरो र लेदोले बस्ति र खेतियोग्य जमिन डुबानमा, भौतिक संरचना नष्ट भएका हुन् । त्यस्तै गाउँमा अन्धाधुन्ध खनिएका सडक र प्रयोग गरिएका डोजरहरुले जमिनलाई हल्लाइरहेको अवस्थामा परेको अविरल वर्षात्ले गाउँ नै बगाएको अनुमान धेरैको छ । नेता र पहुँचवालाहरुको अवैध क्रसर र खानी तथा डोजरे विकास क्षति धेरै हुनुको मुख्य कारण हो ।

विपी राजमार्गलगायत जिल्लाका विभिन्न स्थानका अलपत्र नागरिकलाई नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार गरेको थियो । तीमध्ये ५० भन्दा धेरै घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले बताइन् । अन्यको उद्धार, खोज कार्य जारी छ । धुलिखेल अस्पतालमा उपचाररतमध्ये केही सुत्केरी, केही अशक्त, अपाङ्गता भएका, जेष्ठ नागरिकहरु छन् । स्थानीयहरुले भने सरकारले खोज र उद्धारमा ढिलाई गरेको गुनासो गरेका छन् । अलपत्र परेका यात्रुहरुले पानीसमेत खान नपाएको बताए ।

-मोतीराम तिमिल्सना 

टिप्पणीहरू