झण्डै चार दर्जन युट्युबमाथि कारबाही शुरु

झण्डै चार दर्जन युट्युबमाथि कारबाही शुरु

प्रेस काउन्सिल नेपालले झण्डै चार दर्जन युट्युब च्यानललाई कारबाही प्रक्रिया अघि बढाएको छ । तथ्यहीन, भ्रामक, एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गर्दै आएका ४३ वटा युट्युब च्यानलमाथि अनुसन्धान र आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरिएको छ । 

काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका माध्यमबाट गलत सामाग्री प्रसारण गरेमा सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयानुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउनेविरुद्ध कारबाही तीव्र पारिएको जनाएको छ । काउन्सिलका अनुसार गत साउन महिनायता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने तीन वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखिएको छ । 

कालोसूचीमा परेपछि त्यस्ता सञ्चारमाध्यम राज्यबाट प्राप्त हुने सबै सुविधाबाट वञ्चित हुन्छन् । काउन्सिलका अनुसार एबीपी क्राइमन्यूज डटकम, टिभी अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म ७६ वटा उजुरी दर्ता भएको र दुई सय ६९ सामग्री स्वःअनुगमन गरी कारबाही गरिएको पनि काउन्सिलले जनाएको छ । 

पछिल्लो समय युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासो बढ्दै गएको उल्लेख गर्दै काउन्सिलले यस सन्दर्भमा कार्यविधि बनाई नियमन गर्न थालिएको पनि जानकारी दिएको छ । विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने पाँच वटा अनलाइनलाई हटाउन निर्देशन दिई सचेत गराइएको र अन्य पाँच वटा माध्यमका विवादास्पद सामग्री हटाई स्पष्टीकरण सोधिएको उल्लेख छ ।

टिप्पणीहरू