तीन मन्त्री र प्रधानसेनापतिले तीन जिल्ला टेक्दै

तीन मन्त्री र प्रधानसेनापतिले तीन जिल्ला टेक्दै

तीन जना मन्त्री र प्रधानसेनापतिको टोली गत साताको बाढी र पहिरोले क्षतविक्षत बनाएको बीपी राजमार्गको खुर्कोट,मंगलटार क्षेत्रको निरीक्षणमा गएको छ । गृहमन्त्री रमेश लेखक,रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल,प्रधानसेनापति अशोकराज सिग्देलसहित ११ जनाको टोली सिन्धुली र काभ्रेको खुर्कोट तथा मंगलटार क्षेत्रको निरीक्षणमा पुगेको बताइएको छ ।

टोली बोकेर नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ अगुस्टा बिहान ८ बजे काठमाडौं विमानस्थलबाट पूर्वतर्फ लागेको छ  । उक्त टोली रोशी,चौताराको अवलोकनपछि ललितपुरको गोटीखेल हुँदै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

सेनाको दुई वटा स्काइ ट्रकले विभिन्न स्थानबाट राहत सामग्रीसहित उद्धार उडान गर्दै छ । आज बिहान भैरहवाबाट काठमाडौं, बिराटनगरबाट बिहान,बिहानै तुम्लिङटारबाट बिराटनगर हुँदै काठमाडौं र मध्यान्ह धनगढीबाट काठमाडौं उडान हुँदै छ । 
आजै दिउँसो सेनाका दुई वटा हेलिकोप्टरले काठमाडौंमा पुष्पवृष्टिको रिहर्सल गर्ने कार्यक्रम छ । फूलपातीको अवसरमा पर्सि बिहीबार टुँडिखेलमा बढाईं कार्यक्रम गरिँदै छ ।

टिप्पणीहरू