दशैं लागेपछि वीर अस्पतालमा आन्दोलन, बिचौलियाविरुद्ध नाराबाजी

दशैं लागेपछि वीर अस्पतालमा आन्दोलन, बिचौलियाविरुद्ध नाराबाजी

दशैंको मुखैमा वीर अस्पतालका सफाई तथा सुरक्षा कर्मचारी आन्दोलनमा होमिएका छन् । अस्पताल प्रशासन र ‘लेबर सप्लायर’ कम्पनीले उमेर हद लगाएर कामदारलाई जबर्जस्ती निकालेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको अगुवाइमा चरणबद्ध आन्दोलन थालेका कर्मचारीले आज अस्पतालको श्रमिक प्रशसनअगाडि नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘श्रम माफिया र बिचौलिया होशियार’, ‘संविधान प्रदत्त मौलिक हकको सुनिश्चितता गर’, ‘श्रमिकमाथि गरिएको विभेद अन्त्य गर’, ‘श्रम कानुन कार्यान्वयन गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

सप्लायर कम्पनीले संविधान र विद्यमान कानुनविपरित ५० वर्षे उमेर हद लगाएर श्रमिकलाई जबर्जस्ती कामबाट निकालेको उनीहरुको आरोप छ । दशकौं वीरमै काम गरेका कामदारलाई समेत अन्यायपूर्ण तवरले निकालिएको गुनासो उनीहरुले गरेका छन् । 

५८ वर्षसम्म जागिर खान पाउने संवैधानिक व्यवस्था रहेकाले यसलाई प्राकृतिक न्यायको सिद्धान्त विपरित भनिएको छ । आन्दोलित कामदारहरुले वार्तामार्फत समस्या समाधान नभए आन्दोलनसँगै कानुनी लडाईं लड्ने उद्घोष पनि गरेका छन् ।

वीर अस्पतालमा पछिल्लो समय इन्फोटेक नामक कम्पनीले सफाई कामदार उपलब्ध गराउँदै आएको छ । गत साउन ४ गते अस्पताल प्रशासन र उक्त कम्पनीबीच भएको नयाँ सम्झौतामा ५० वर्षे उमेर हद तोकिएपछि कार्यरत नौ जना कामदार स्वतः निष्कासनमा परेका हुन् ।

टिप्पणीहरू