राज्यमन्त्रीका प्रेस सल्लाहकार आपराधिक लाभमा व्यस्त, नुवाकोटमा ठगी मुद्दा

राज्यमन्त्रीका प्रेस सल्लाहकार आपराधिक लाभमा व्यस्त, नुवाकोटमा ठगी मुद्दा
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार पक्राउ परेका छन् । काठमाडौंको कपनमा बस्दै आएका गोरखाका अश्विन दानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकूले आपराधिक लाभ कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

कार्यालयले दानीले डर त्रास देखाउँदै रकम माग गरेको जाहेरीका आधारमा आज कपनबाट पक्रेको जनाएको छ । उक्त कसुरमा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ । 

यसअघि उनीविरुद्ध नुवाकोटमा ठगी मुद्दा रहेको अनुसन्धानको अभिलेखबाट खुलेको छ । चन्द्रबहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटको अभिलेखमा देखिन आएको हो ।

उनलाई मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य वस्तु ठगी गरेको आरोपमा गोरखाकै भिमसेन थापा गाउँपालिका–८ का अर्जुन कुमालसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत चैतमा पक्रेको थियो ।

टिप्पणीहरू