दशैंका ती मीठा अनुभव

दशैंका ती मीठा अनुभव

-हिमाली

डेढ दशकपछि एउटा दशैं कथा लेख्दै छु–त्योपनि कामबाट फर्किएर, पसिनाले निथु्रक्क भिज्दै चार तलामाथि उक्लिएपछि । थाइल्याण्ड रमाइलो छ । अझ भनौं बैंकक । यो शहरमा मानिसहरू आ–आफ्नै लयमा बाँचिरहेका छन् । अस्तव्यस्त ‘सुन्दर नगरी’ बैंककमा सबैजसो व्यस्त छन् । झन् व्यस्त छ चोक–गल्लीका सडक । अनि, व्यस्त नै छौं हामी प्रवासी मजदूर । जसका हजारौँ सपना बैंककले चम्काउँदैछ, डुबाउँदैछ वा समयको फेरो तन्काउँदैछ ।

छिटो गुड्नुपर्ने गाडी रोकिएको छ । हैरान छु, यो ट्राफिक जामले । यात्रुले खचाखच भरिएको बसभित्र थुनिएँ । एकअर्काको पसिनाको बाफले पाकिसकेँ म । अब त सासै चल्न छोड्यो, मुखबाट आवाजै निस्किन छोड्यो । जब आइपुग्छ सुकुम्भेट अर्थात् मेरो ओर्लिने पालो, खुशी हुँदै गाडीबाट बाहिर निस्किन्छु । दिनभरिको थकान बिसाउन ‘चिसो पानी’ मा चोपलिन्छु । पसिनाले निथु्रक्क थियो शरीर । केही समयपछि हलुङ्गो महशुस भयो । शान्त वातावरणमा पानीका थोपाहरूले ‘बाजाको ताल’ मिलाइरहेको हुन्छ । रमाउँदैछु म ।

फोनको घण्टी बज्यो । अनि, चिसो पोखरीबाट बाहिर निस्केँ म । ‘दिदी अहिलेसम्म कोठामा नआउनुभएको तपाईं’, कालीले सम्झाई,‘दिदी दशैंको लागि नाइट मार्केट जाने भनेर’ झसङ्ग भए । हिजोदेखि पटकपटक उसले मलाई सम्झाइरहेकी थिई । बजार जाने मन नहुँदानहुँदै असजिलो मानीमानी हुन्छ भनेकी थिएँ मैले । ऊ बच्चाझैं फुरुङ्ग भएको देखेर हाँसो उठेको थियो । 

उमेरले ४० ननाघे पनि अभिभाराहरूले ६० कटिसकेको म । बिहे नभए पनि अभिभावक भएको दुई दशक कटेछ । ‘बडादशैं आयो रे १’ भित्तेपात्रोमा बाहेक अन्त आएझैं नदेख्ने म । बाल्यकालतिरै फर्किन्छु । शरीर थाइल्याण्डमा भएपनि मन मोगोकमै ‘म्यान्मा’ हुन्छ ।  हाम्रा घरकालाई प्रत्येक चाडबाड पहिल्यै लाग्थ्यो । टेबलअघि बसेर हेर्थें, रमाइलो थियो कुनै समय । याद छ । एक जमाना थियो, सानो छँदा ।

कहिलेकाहीँ लाग्छ, जसलाई फुर्सद छ । जोसँग पैसा छ, त्यसलाई बैंककमा सँधै दशैं छ । तर नेपालीहरूको जमातमा हुर्केको म, नेपाली परिवेशमा बाँचिरहेको म । थर सुनेर गोत्र अनुमान लगाउन सक्थें । चित्त नबुझे थर गोत्रको पुस्तक पल्ट्याएर उत्तर नियाल्थें । प्रवासिएको परिवेशमा काम चलाउने पण्डितले दिएको कश्यप गोत्रलाई हाम्रो गोत्र यो हो भन्दा ‘माउभन्दा चल्ला बाठो बन्नुहुँदैन’ जे छ, ठीक छ भन्ने बा पनि थर गुमाएर कुन कुनामा अलपत्र छन् । 

बालापन कष्टकर थियो । पढाइबाहेक अन्य केही हुँदैन्थ्यो । जसमा सम्झनाको पाटा भन्नु नै थकाइ थियो । दशैंको टीका घरमा थापेपछि मात्र मामाघर जान पाइन्थ्यो । मोगोकमा नेपाली धेरै छन् । मेरो मोगोक साँच्चिकै सुन्दर र नेपालीपनमै बाँचिरहेको थियो । दशैंको टीका साइतमै लगाएपछि ६–७ घण्टा हिँडेर जानुपथ्र्यो मामाघर । म्यान्मामा हामीलाई सानैमा सिकाइन्थ्यो दुइटा घर हुन्छ भनेर । 

एउटा बुवाको घर, अर्को मामाघर । परिवारै घण्टौं हिँडेर उफ्रीउफ्री मामाघर जान्थ्यौं । बा–आमा, मामा–माइजूको हातबाट दक्षिणा र आशिष थाप्थ्यौं । दाजुभाइ र दिदीबहिनीहरू जम्मा भएर पैसा गन्थे । आमाका पुराना र घतलाग्दा कुरा सुन्दा लठ्ठ हुन्थ्यौं । आमाले धेरैपटक नेपाल र पशुपतिनाथबारे कथा सुनाउनुभएको मलाई याद छ ।

बाघर र मामाघरमा टीका थापेको भोलिप हामी म्यान्माली स्कुलका साथीहरूसँग गफिन्थ्यौँ । मामाघरको कथा सुनाउँथ्यौं । रहरका पोका खोल्थ्यौँ । मामाघर जाँदाका अनुभव बाँड्थ्यौं । केही वर्ष यसरी बिते । अन्ततः पढाइको अन्त्यसँगै मावली बुवाआमा पनि बित्नुभयो । त्यसपछि मामाघरमा टीका लगाउन जान छोड्यौं ।

घरको हाँगा ठूलो हुँदा आफन्तको जुठो लागिरहन्थ्यो । एकपटक सात वर्षपछि टीका लगाउन पाएका थियौं, त्योपनि चाडबाडमा एक हाँगाले मात्र टीका नलगाउने निर्णय लिएर । हामी सबै खुशी थियौं । पिङ् खेल्न जाने योजना थियो तर मन्दिरमा चण्डी पढ्ने भएकाले मिलेन । गाउँमा नौ दिन ब्रत बस्नेहरूलाई कथा पढेर सुनाउने पढेलेखेको व्यक्ति नहुँदा म्यान्माका युवापुस्ताको रमाइलो गर्ने सपना पूरा हुन सकेन । 

गाउँ सानो भएपनि रमाइलो थियो । हितैषी लाग्थ्यो । पूरै गाउँ आफ्नो थियो । सबैको घरमा गएर टीका थाप्ने र सेलरोटी चपाउने योजना मनमनै बन्थ्यो । घरभरि मान्छे । टीकाको पालो रुङ्दारुङ्दा अबेर हुन्थ्यो । टीका लगाउन हिँडेको मैले बाटोमै नयाँ बैनीज्वाइँ भेटाए । ‘दिदी सँगै जाम’ भनेपछि प्रफूल्लित भए । आहा ! मचाहिँ गाइड नै बन्ने भए भनेर । केही क्षणमा थाहा भयो कि एक्लै र जोडी जानुमा धेरै फरक हुँदो रहेछ भनेर । ज्वाइँलाई मान्यता दिने हाम्रा फुपू र आमाले छोरीको खासै वास्ता गर्दैनथें । टीका थाप्दा पाइने दक्षिणा मेरो भागमा कहिल्यै हुँदैनथ्यो । यसपटक भने जमरा र पातीसहित टन्न आशिर्वाद थापें । 

सबैले आशिष दिन्थे,‘बहिनीले जोडा मिलाएर घर बसाइँ, अब ढिला नगरेस्, एक्लो जीवन गाह्रो हुन्छ ।’ म रिसले चुरचुर भए । जमरासहित आशिर्वाद फिर्ता दिन मन लागिरहेको थियो । तैपनि चुप लागे । टन्न खाए अनि हिँडे । दशैं कथा लेख्न बसेकी म बेला–बेलामा मुसुमुसु हाँस्छु । मेरो अनुहार हेरेर बहिनीहरु भन्छन्,‘दिदी सानो छँदा दशैं कति रमाइलो लाग्थ्यो हैं ।’

फेरि सोच्छु,‘मेरो जीवन यत्तिकै गयो ।’ विदेशिएको एक दशक भयो । कैयौँ दशैं डेरामा, काममा, घरमा काटियो । आर्थिक र देशकाल परिस्थितिले विदेशिन बाध्य भएका हामी, कर्मथलो थाइल्यान्डमै भएनि परिवारसहित रमाएका छौं । हरेक चाडपर्व मनाएका छौं । रीतिरिवाजको मान्यता पूर्ण रुपले पालना गरेका छौं । फरक यत्ति छ कि यहाँ अभिभावकका रुपमा आमाबुबा हुनुहुन्न । भिडियो कुराकानीबाट आशिर्वाद थाप्नुपर्छ । आँशु लुकाएर हाँसो बाँड्नुपर्छ ।

थाकेको मस्तिष्क र भारी शरीर टेकाउने आमाको न्यानो काख छैन् । बुबाको शीतलता दिने ओत छैन । अरु त सबै बराबर छ । राता, सेता अक्षता, जमरा, सेलरोटी, पुरी, दालभात, अचार, मिठाई, दक्षिणा, भाइबुहारी र बहिनी–ज्वाइँसँगको रमाइलो पलभन्दा पनि मीठा सम्झना छन् । 

जुन तस्बिरमा कैद भएन । मामाघरको हजुरबा र आमाको माया बेग्लै थियो । नौ घरपट्टिका बा–आमाको याद थिएन, म सानै छँदा बितिसक्नुभएको थियो । मामाघरबाट पहिलो सन्तान भएकै कारण रहरै–रहरमा धेरै माया पाएकी थिए । जो हर कोहीले पाएनन् । त्यो एउटा समय थियो, जब एउटा तस्बिर लिन कसैको विवाह वा पूजा हुनुपर्थ्यो । तब मात्र फोटोग्राफर आउथें । 

यातायातको लागि एउटा गाडी थियो । त्योपनि सीमित ठाउँमा चल्दा दुई घण्टा हिँड्नुपर्ने र झरेपछि पुनः हिँड्नैपथ्र्यो । सिंगो शहरमा एउटा फोन थियो, त्योपनि सरकारी कार्यालयमा । सुन्दा अचम्म लाग्न सक्ला । आजभन्दा २५–२६ वर्षअघिको म्यान्मा यस्तै थियो । नौ बचराको अनुहारमा झल्किरहेको थियो अचम्मित झलक । दशैंमा टीका लगाएर खाना खाएपछि मनोरञ्जनका निम्ति नाच्ने, गाउने माहौल बन्थ्यो । 

राति ३ बजे नै उठेर नाचगान गरिन्थ्यो । मेरो कुराले सबै दंग हुन्थे । म्यान्मामा बलीको चलन छैन । मन्दिरमा काँक्रो या कुभिन्डो काटेको याद छ । विदेशमा दशैं खल्लो हुन्छ भन्छन् । हुन पनि हो, दशैं, दशैंझैं लाग्दैन । यहाँ अरु नभएपनि जमरा राख्नुपर्दैन, त्यही सजिलो छ । कसैको निधार खाली पनि रहँदैन । 

आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाउँछौं । प्रवासी हामी जहाँ, जुन ठाउँमा रहेपनि दशैं मनाउँछौं नै । याद त आफैंले बनाउने हो । सबै नेपालीजनलाई दशैंको हार्दिक शुभकामना !

बैंकक, थाइल्याण्ड ।

टिप्पणीहरू