चाडपर्वलाई बोझिलो होइन सहज बनाऔं

चाडपर्वलाई बोझिलो होइन सहज बनाऔं

हिन्दू धर्मावलम्बीको महान् चाड दशैं प्रारम्भकोे आज आठौं दिन भएको छ । विदेशिएका र मुलुकका विभिन्न जिल्लामा रोजगार, व्यापार, अध्ययन गरिरहेकाहरु धमाधम थातथलो फर्किरहेका छन् । नेपाली समाजमा नौरथा शुरु हुनुअगाडि सोह्रश्राद्धको प्रचलन छ । सोह्रश्राद्ध गर्दा वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । 

ठूला चाड दशैं, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीहरुको भनाइ छ । यस वर्षको दशैंको जमरा राख्ने दिन अर्थात, घटस्थापना असोज १७ गते सम्पन्न भइसकेको छ । 

अहिले बजारमा दशैंको किनमेल गर्नेको भीड छ । अधिकांशले दशैं, तिहार र छठका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडाको जोहो यही बेला गर्ने भएकाले पनि बजारमा व्यापक भीड हुन्छ । दशैं, तिहार, छठजस्ता चाडपर्व हाम्रा अमूल्य गहना हुन् । ती गहनालाई उपयुक्त ढङ्गले धारण गर्न सकेमा मात्र चाडपर्वको महत्व र आकर्षण चिरकाल पर्यन्त रहन्छ ।

चाडपर्वका बेला अरुको देखासिकी गर्नाले अनावश्यक खर्च बढ्छ र चाडपर्वपछि कतिपय ऋण तिर्न विदेश हानिनुपर्ने बाध्यता आइपर्न सक्छ । त्यसैले ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्ने उक्ति चलेको होला । यस्तो हुन गयो भने यसले चाडपर्वको महत्व तथा आकर्षण हराउँछ भने पर्वहरु बोझिला बन्न पुग्छन् । अनिकालान्तरमा चाडपर्वहरु मासिँदै जान्छन् । अतःहाम्रा चाडपर्वको महत्व र आकर्षणलाई संरक्षण गर्ने दायित्व पनि हाम्रै काँधमा छ ।

दशैंमा परिवारका ज्येष्ठ सदस्यको हातबाट टीका र जमरासँगै आशीर्वाद थापिन्छ । यसरी आशीर्वाद थाप्न पाउनु अहोभाग्य मान्नुपर्छ तर कुनै कमाइ नभएका, अरुको सहारामा बाँच्नु परेका ज्येष्ठ सदस्यकहाँ आशीर्वाद थाप्न गएकाहरुले दक्षिणा धेरै दिनुपर्छ भन्ने सोच हामीले राख्नहुँदैन । 

आफूभन्दा ठूलाबडाको आशीर्वाद थाप्न पाउनु लाखौँ रुपैयाँ पाउनुभन्दा पनि ठूलो हुन्छ । यो संस्कार हामीले हाम्रा भावी पुस्तालाई पनि दिन सक्नुपर्छ । टीका लगाइसकेपछि दक्षिणा कति पायौ ? यो प्रश्न अधिकांश अभिभावकको हुन्छ आफ्ना साना छोराछोरीसँग । त्यो हाम्रो ठूलो भूल हो । आशीर्वादलाई पैसामा दाँज्दै जाने हो भने हाम्रा चाडपर्वको आकर्षण बढ्दैन, घट्दै जान्छ । जब चाडपर्व पैसासँग जोडिन्छन्, त्यसलाई व्यवसायीकरण भएको मान्नुपर्छ ।

अहिलेको सन्दर्भमा मिठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्छ भन्ने छैन् । जहिले इच्छा लाग्छ, तहिले पाइन्छ तर अरुलाई देखाउनकै लागि चाडपर्वकै समयमा गरगहना, लुगाफाटो जोड्ने गर्दा हुनेको फुर्ती बढ्ला तर नहुनेलाई बाध्यता पर्छ । ऋण गरेरै भएपनि चाडपर्व मनाउनुपर्छ भन्ने सोचिन्छ । अतःहुनेले संयमता अपनाएर चाडपर्व मनाउँदा नहुनेलाई केही राहत मिल्छ ।

सरकारले पनि हरेक वर्ष चाडपर्वको पूर्वसन्ध्यामा सहुलियत दरका खाद्यान्न पसलहरु सञ्चालन गर्ने गरेको छ । यस वर्षपनि सरकारले त्यस्ता सहुलियत पसलहरु देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याएको छ । दशैं, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल देशका ५० भन्दा बढी स्थानमा सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो छठ सम्मका लागि यी सहुलियत पसल सञ्चालन गरेका छन् ।

उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य चाडको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामान उपलब्ध गराउने उद्देश्य राखेको छ ।

चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सरकारले काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र घुम्ती पसलबाट सुपथ मूल्यमा खाद्यान्न बिक्रीवितरण थालेको छ ।

असत्यमाथि सत्यको विजय भएको दिनलाई विजयादशमी भनिन्छ । हामीले असत्यलाई परास्त गर्न सक्यौँ कि सकेनौँ ? सत्य के हो अनि असत्य के हो भनेर आफ्ना सन्तानलाई बुझाउन सकेका छौँ कि छैनौँ ? यस बारेमा पनि सोच्न जरुरी छ । बाहिरी रुप जस्तोसुकै भएपनि भित्री स्वभावले मानवी र दानवी प्रवृत्तिलाई बोध गराउने सत्यलाई हामीले बुझेर पनि बुझ पचाइरहेका छौँ कि ? हामी आफैँपनि बाहिर सुन्दर भएर हिँडेका छौँ तर भित्री रुप दानवी हुन सक्छ । त्यसलाई नियन्त्रण गर्न लागिपरेका छौँ कि छैनौँ ? यसबारेमा पनि गम्भीर भएर सोच्नुपर्छ ।

अतः हाम्रा चाडपर्वलाई आर्थिक दृष्टिकोणले बोझिलो बनाउने होइन, सरल बनाउनुपर्छ । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई मनन गर्नुपर्छ । धनले होइन, मनले भावनात्मक सम्बन्ध बलियो पार्नुपर्छ । आपसी भाइचाराको सम्बन्ध धनले होइन, मनले नै जोड्न सक्नुपर्छ । सानासाना बालबालिकालाई उचित संस्कार दिन सक्यौँ भने मात्र हाम्रा चाडपर्व सहज ढङ्गले मनाउँदै जान सकिन्छ । अन्यथा, व्यवसायीकरण हुँदै जाँदा चाडपर्व कुनै दुर्घटनामा पर्न सक्छन् र ती चाडपर्वको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ ।

हामीले चाडपर्वको समयमा स्वास्थ्यको राम्रोसँग विचार पुर्याउनुपर्छ । हाम्रो भोजनको शैली र खानाको गुणस्तर तथा परिकारले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माण गर्नेभन्दा पनि बिगार्ने प्रकारको छ । नेपालका अस्पतालको आँकडा हेर्यौँ भने दुई वटा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल गएका हुन्छन् । 

तीमध्येका हुन्, दशैं, तिहार र छठ । मान्छे सृष्टिले बनाउन खोजेको देवता हो तर खानपिन यसरी गर्छ कि राक्षसी पाराले । हामीले चाडबाडको बेला हाम्रो स्वास्थ्य राम्रो बनाउनुपर्नेमा उल्टै रोग कमाउँछौँ ।

हामीले के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ र के खाँदा हानि हुन्छ भन्ने कुरामा ध्यान नदिँदा पेटका रोगी बढेका बढ्यै छन् । चाडपर्वको बेला आपराधिक घटना पनि हुन्छन् । हामीले हाम्रा चाडपर्वलाई अपराधको कारखाना बनाएका पो छौँ कि ?अपराध दुई प्रकारका हुन्छन् । एउटा आफैँमाथि गरिएको र अर्काे अरूमाथि गरिएको अपराध । अरूमाथि गरिएको अपराधका लागि त प्रहरी छ, अदालत छ । उनीहरूले रोक्छन् तर आफैँमाथि गरेको अपराध कसरी रोक्ने ?

चाडपर्वका बेला हामी आफ्नो घर वा डेरा छोडेर आफन्तकहाँ जान्छौँ । यो बेला हामीले घरको सुरक्षामा विशेष ख्याल पुर्‍याउनुपर्छ । आजकल सामाजिक सञ्जालको प्रयोग बढी नै हुने गरेको छ । हामीले सामाजिक सञ्जाल प्रयोगमा विशेष ख्याल पुर्‍याउन सक्यौँ भने पनि हाम्रो घरको सुरक्षा गर्न सकिन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवशः व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरु मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । त्यसैले सामाजिक सञ्जाललाई सही रुपमा सदुपयोग गर्न जानियो भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

टिप्पणीहरू