अपरिचित स्रोतबाट आएका सन्देशप्रति सजग रहन आग्रह

अपरिचित स्रोतबाट आएका सन्देशप्रति सजग रहन आग्रह

नेपाल राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका सन्देशप्रति सजग रहन आमसेवाग्राहीलाई आग्रह गरेको छ । 

पछिल्लो समय ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता सामाजिक सञ्जालका माध्यममा चिठ्ठा परेको, धनसम्पत्ति, सुन वा महंगो मोबाइल पुरस्कार जितेको, विदेशबाट पार्सल आएको भन्दै ठगी गर्ने क्रम बढिरहेकाले केन्द्रीय बैंकले सचेत गराएको हो । 

‘अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता मोबाइल एप, इमेल, फोन तथा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, धनसम्पत्ति, सुन, महंगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी, फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको सन्देश तथा भिडियो प्राप्त भएमा सजग हुनुहोला,’ बैंकको सूचनामा भनिएको छ । 

वित्तिय ठगीका लागि यस्ता सन्देश पठाइने गरेको स्पष्ट पार्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका म्यासेजलाई वेवास्ता गर्न सुझाव दिएको छ । 

‘यस्ता सन्देशहरुमार्फत वित्तिय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईँलाई आकर्षक प्रस्तावहरु दिदैँ तपाईँको व्यक्तिगत र वित्तिय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईँलाई आर्थिक हानिनोक्सानी पुग्न सक्छ,’ केन्द्रीय बैंकले भनेको छ, ‘अतः अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै बुद्धिमानी हुन्छ ।’

कहिलेकाँही परिचित व्यक्तिको मेसेन्जर, ह्वाट्सएपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाई केही रकम सापटीको रकम खाता वा मोबाइल वालेटमा पठाउन क्युआर कोड दिने दिने गरिएकोले यसप्रति पनि सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ ।

टिप्पणीहरू