चारजना लागूऔषध कारोबारी तीन ठाउँबाट पक्राउ

चारजना लागूऔषध कारोबारी तीन ठाउँबाट पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना समातिएका छन् । प्रहरीले छुट्टाछुट्टै स्थानबाट विभिन्न प्रकारका लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–५, बसपार्कस्थित न्यू वान्तवा होटलबाट ब्राउनसुगरसहित भारत घर भएका ३८ वर्षीय जमकोद खान र उनका छोरा १७ वर्षीय किशोर छन् । हिजो दिउँसो उक्त होटलबाट करिब ५२ ग्राम २९० मिलिग्राम ब्राउनसुगरसहित उनीहरु प्रहरी नियन्त्रणमा पुगेका हुन् ।

यस्तै, कैलालीको गोदावरीमा चरेशसहित ५९ वर्षीय सहदेव भण्डारी समातिएका छन् । गोदावरी नगरपालिका–१, भरतपुर बस्ने उनको हिजो साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले घर तलासी गर्दा पाँच सय ४५ ग्राम चरेश फेला परेको हो । 

कैलालीकै धनगढी उपमहानगरपालिका–७, मनेहराबाट पनि ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । सोही ठाउँ बस्दै आएका २९ वर्षीय प्रकाश रानालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो एक सय ८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

 

टिप्पणीहरू