पोहोरकै मूल्यांकन दरमा टेकेर कर असुल्न महानगरको निर्देशन

पोहोरकै मूल्यांकन दरमा टेकेर कर असुल्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले गत वर्षकै जग्गाको मूल्यांकन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न निर्देशन दिएको छ । 

महानगरको राजस्व विभागले मातहतका वडा कार्यालयलाई परिपत्र गर्दै २०८० सालमा कायम जग्गाको मूल्यांकन दरलाई आधार मानेर कर असुल्न भनेको हो । 

‘चालु् आर्थिक वर्ष २०८१-०८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्यांकन दर सम्बन्धमा आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधान सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्यांकन दरलाई आधार लिनू,’ परिपत्रमा उल्लेख छ । 

महानगरले हाल आफ्नो क्षेत्राधिकारभित्रका घरजग्गामा आर्थिक ऐन, २०८१ को व्यवस्थाबमोजिम सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रतिआना मूल्यलाई आधार मानी कर असुली गर्दै आएको छ । 

तर, उक्त व्यवस्थाबमोजिम सम्पत्ति कर निर्धारण गर्दा विगतका वर्षभन्दा कर रकममा अनपेक्षित घटबढ भई गुनासो आएकाले आर्थिक ऐन, २०८० मा भएको मूल्यांकन दरलाई आधार मानी कर असुल्न भनिएको हो । 

साथै, आर्थिक ऐन, ०८१ बमोजिम संकलन गरिएको सम्पत्ति कर रकम ०८० को तुलनामा घटबढ भएमा गत साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर बुझाउने करदाताहरुको हकमा घटी-बढी भएको रकम आगामी पाँच वर्षभित्र क्रमशः समायोजना गर्न पनि महानगरको निर्देशन छ ।

टिप्पणीहरू