गोकर्णेश्वरमा पुरुषको हत्या, महिलासहित तीन जना पक्राउ

गोकर्णेश्वरमा पुरुषको हत्या, महिलासहित तीन जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुषको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने सुर्खेतका ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या आरोपमा गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीका २७ वर्षीया विमला भट्टराईसहित कपन बस्ने पाँचथरका ३८ वर्षीय अमृत मगर र सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ समातिएका हुन् । 

हिजो दिउँसो सँवा ३ बजेतिर नयाँबस्तीस्थित लस लाईट स्कुलनजिक सार्वजनिक स्थानमा होमबहादुर शरीरमा चोटपटक लागी अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्कालै नारायणटारस्थित शंखरापुर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरे ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका तीन जनाले होमबहादुरलाई कुटपिट गरी फरार भएको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई हिजै साँझ नियन्त्रणमा लिएको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू