बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी सडकखण्ड राति बन्द

बीपी राजमार्गको धुलिखेल–भकुण्डेबेसी सडकखण्ड राति बन्द

नयाँ ट्रयाक खुलाएर सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा आज रातभर सवारी आवागमन बन्द गरिने भएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै हरेक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने जानकारी गराएको हो । 

गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त सडकखण्डको झण्डै आठ किमीभन्दा बढी लम्बाई पूर्ण रुपमा बगाएको थियो । त्यसपछि ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको मात्र आवागमन खुलाइएको छ ।

 तर, ट्रयाक मर्मत कार्य भइरहेको हुँदा जुनसुकै समयमा पनि सडकमा सुख्खा पहिरो झर्ने जोखिम रहेकाले रातभर बन्द गर्न लागिएको कार्यालयले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘काभ्रे जिल्लाअन्तर्गत क्षतविक्षत रहेको भकुण्डेबेसी चौकीडाँडादेखि बर्षेखोलासम्मको सडकखण्डमा ट्रयाक निर्माण भएपनि हाल ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेको साथै जुनसुकै समयमा पनि उक्त सडकमा सुख्या पहिरो झर्ने सम्भावना रहेकोले हाललाई बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म बीपी राजमार्ग (धुलिखेल–भुकण्डेबसी बर्षेखोला सडकखण्ड) बन्द रहने जानकारी गराइन्छ ।’

टिप्पणीहरू