शिक्षकले दशैँमा तलब नपाउनुको कारण माग

शिक्षकले दशैँमा तलब नपाउनुको कारण माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दशैँमा शिक्षकले तलबभत्ता नपाउनुको कारणसहितको विवरण मागेको छ । 

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै शिक्षकको तलव भुक्तानी नहुनुको कारण खुलाएर पठाउन निर्देशन दिएको हो । कतिपय स्थानीय तहले दशैँ बिदाअघिको पनि तलबभत्ता भुक्तानी नगरेको गुनासो प्राप्त भएको केन्द्रले जनाएको छ । 

‘केही स्थानीय तहबाट चालु आर्थिक वर्षमा दशैँ बिदाअघिसम्म पनि शिक्षकलाई तलबभत्ता नखुवाएको गुनासो प्राप्त भएकोले सबै शिक्षा विकास तथा समन्वय एकाइहरुलाई आफ्नो जिल्लाभित्र दशैँ बिदा अगाडिसम्म शिक्षकको तलबभत्ता नखुवाउने स्थानीय तहले पूरै वा आंशिक तलबभत्ता नखुवाउनुको कारणसहित विवरण केन्द्रमा उपलब्ध गराउनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ । 

चालु आर्थिक वर्ष २०८१-०८२ को बजेटमा शिक्षक र विद्यालयका कर्मचारीको तलबभत्ता मासिकरुपमा बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था छ । जसअनुसार विद्यालयले त्रैमासिकको पहिलो महिनामा नियमानुसार तलबभत्ता स्थानीय तहमा माग गर्नुपर्ने र सोका आधारमा निकासा भई शिक्षकलाई मासिक रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । 

तर, कतिपय पालिकाले गत साउनदेखि तलबभत्ता उपलब्ध नगराएको शिक्षकहरुले गुनासो गर्दै आएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

टिप्पणीहरू