पसलभित्र बलात्कार, बोरामा शव

पसलभित्र बलात्कार, बोरामा शव

डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या आफूले गरेको स्वीकारेका छन् । पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको खुलेको छ ।

आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको कारण भने अझै नखुलेको बताइन्छ । तर स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गरेका छन् ।

जबरजस्ती करणी गर्न खोज्दा किशोरीको प्रतिकारपछि आवेशमा आएर हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । पोष्टमार्टम रिपोर्ट नआइसकेकाले बलात्कारबारे यकिन गर्न नसिकएको हो ।

किशोरीले आफू भारत जान लागेको बताउँदै केही रकम चाहिएको भन्दै भण्डारीलाई दशैंअघि २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । किशोरी आरती २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन् । त्यसबेला उनले बजारमा चप्पल पनि किनेको पाइएको छ ।

भण्डारीसँग किशोरीको एक वर्ष अघिदेखि चिनजान रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भने ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको भनिएको छ ।’

त्यसपछि भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा प्याक गरेर पसल बाहिर राखेका थिए । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकैका सुरक्षाकर्मीले उठाउन सहयोग गरे । आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोत भन्छ– पसल बाहिर शव राखेर निस्किएका उनले तीन किमी पर पुगेपछि फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएका थिए । राति ९ बजेतिर फर्केर पसल खोले । म.१ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा शवको बोरा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा परेपछि मोटरसाइकल नालीमा ढलेको देखिन्छ । 

त्यसपछि पोखरा बजारको १० मिटर पूर्वमा शव फालेर भण्डारी भागे ।  तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुग्यो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले भोलिपल्ट बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू