सेवा रेमिटको लाइसेन्स खारेज

सेवा रेमिटको लाइसेन्स खारेज

विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त काठमाडौंको सेवा रेमिट प्रालिको लाइसेन्स खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकले कुलेश्वरको उक्त कम्पनीको इजाजतपत्र खारेज गरिएको जनाएको छ ।

सेवा रेमिटसँग विप्रेषण कारोबारको सिलसिलामा कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन बाँकी रहेमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आगामी ३५ दिनभित्र लिखित निवेदन पेश गर्न सूचित गरिएको छ । 

बैंकले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी, सेवा रेमिट प्रालि, कुलेश्वर काठमाडौंको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम–१३ को उपविनियम (१०) खण्ड (ङ) बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मिति ३५ दिनभित्र यस विभागमा लिखित रुपमा जानकारी दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।’

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा कम्पनीको बैंक जमानत फुकुवा हुने जनाइएको छ । तर, तोकिएको अवधिभित्र दाबी गरिएमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने छ ।

‘खारेज हुने उक्त विप्रेषण कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र यस बैंक हिसाबमिलान गरिदिने जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू