पृथ्वीका हिम्मतिला अदुभूत प्राणीहरु
फ्रान्क लेन्तिनीको उपनाम नै अद्भूत प्राणी थियो । अद्भूत यसकारणले कि जन्मिँदै उनका ३ वटा खुट्टा थिए । दुइटा स्वाभाविक र एउटा अस्वाभाविक । अस्वाभाविक यसकारणले कि उक्त खुट्टा पीठबाट निस्केको थियो । पूर्वीय मुलुकमा मात्र होइन, विकसित भनिएको युरोपमा पनि त्यसबेला परिवारमा छोरोको आगमन हुँदा बढी हर्ष मनाइन्थ्यो तर उनी जन्मिँदा परिवार दुःखी बन्यो । ३ वटै खुट्टामा गरी कूल १६ वटा औंला थिए भने यौना¨ पनि दुइटा थियो । टेक्न त दुइटै खुट्टाले टेकेर हिँड्थे, किनभने पछाडि निस्केको अर्को खुट्टो अगाडिको तुलनामा छोटो थियो । यसमाथि अगाडिका दुइटा खुट्टाको लम्बाइ पनि समान थिएन । यसको बावजुद उनी मज्जाले हिँड्न सक्थे । आमा मारिया अल्बेरिनो अलग्ग किसिमको प्यान्ट सिलाएर छोरोलाई दिन्थिन् भने उनको लागि सार्कीले पनि ३ वटा जुत्ता सिलाउँथे । विकसित मुलुक इटलीमा जन्मेर पनि शल्यक्रियामार्फत एउटा अतिरिक्त खुट्टा यसकारणले फालिएन किनभने उक्त खुट्टा मेरुदण्डसित जोडिएको थियो र शल्यक्रिया गर्दा पक्षघातको शिकार हुने खतरा ज्यादा थियो ।
फ्रान्कको जन्म इटली अधीनस्थ सिसीली टापुमा भएको थियो । पेशाले नर्स मारियाको उनी पाँचौँ सन्तान हुन् । मारियाका कूल १२ छोराछोरीमध्ये ७ छोरी र ५ छोरा थिए । सन्तान धेरै भएपछि सानैमा फ्रान्कलाई मारियाकी बहिनीको जिम्मा लगाइयो भने ५ वर्षको हुँदा बिकला¨ केटाकेटीको आश्रयस्थलमा पठाइयो, जहाँ उनले दौडने, डोरीमा उफ्रने, साइकल चलाउने र आइसमा स्केटिङ खेल्ने कला सिके । ९ वर्षको हुँदा पिता नतालेले अमेरिका लगे । शुरुमा फ्रान्कले त्यहाँ निकै अपमान सहनुपर्यो । कोही उनको खुट्टा देखेर खिसी गर्थे भने कोही सहानुभूति पोख्थे । यस्तो व्यवहारले उनी वाक्कदिक्क बन्दै आफैँलाई घृणा गर्न थाले तर त्यहाँ असंख्य बिकला¨ केटाकेटी देखे । कोही आँखा नभएका, कोही हातखुट्टा नभएका । यसको बाबजुद कोही पनि निरास नभएका र केही न केही गरिरहेका पनि । यी दृष्य देखेपछि हौसला बुलन्द भयो । म पनि केही गर्न सक्छु भन्ने आशा पलायो । फ्रान्क आफ्नो भाग्यलाई सरापेर रुन छाडे । सपांग व्यक्तिले गर्न सक्ने काम गर्न सकिन्छ भन्ने लाग्यो । दौडन, साइकल चलाउन त जानेकै थिए, घोडा चढ्न पनि सिके ।
त्यसबखत विश्वभरि ‘रिङलिङ ब्रोस’ को खुब चर्चा थियो । यो ५ जना रिङलिङ दाजुभाइ, एक जना व्यापारी पिटी बार्नम र जेम्स एन्थोनी बाइले मिलेर खोलेको सर्कस थियो । यसले अमेरिकी विभिन्न शहरमा मात्र होइन, विश्वका कुनाकुनामा गएर सर्कस देखाउँथ्यो । यो टोली यतिधेरै प्रसिद्ध थियो कि यसलाई लिएर धेरै वटा चलचित्र बनेका छन् । भाग्यवश, फ्रान्कले यसमा काम गर्ने मौका पाए । उनले आफ्नो अतिरिक्त खुट्टालाई बस्ने स्टुलको रुपमा थाले । सायद उनी विश्वको पहिलो व्यक्ति होलान् जो जहाँ जहिले पनि बस्न सक्थे । बस्नका लागि छुट्टै कुर्सी आवश्यक पर्दैनथ्यो । पछाडिको खुट्टामा बसेर अगाडिको दुइटा खुट्टाले भुइँमा टेकेपछि आफैँ तीनखुट्टे स्टुल बन्थ्यो । त्यति मात्र होइन अतिरिक्त खुट्टाले बललाई परसम्म हान्न सक्थे । हास्यपात्रहरूको उटपट्याङ उछलकुद, जनावरहरूले गर्ने हर्कत हेरेर वाक्कदिक्क बनिसकेका दर्शकका लागि फ्रान्कले देखाउने कला नयाँ स्वाद बन्यो । उनैलाई देख्न मात्र पनि टिकट किनेर सर्कस हेर्न जानेको ताँती लाग्न थाल्यो । र, उनी अद्भूत मान्छेको रूपमा प्रख्यात बन्दै गए । उनले सर्कस देखाउने सिलसिलामा अमेरिकी बिभिन्न शहर र युरोपको यात्रा गर्नसमेत भ्याए । ४० वर्ष सर्कसमा काम गरे । ३ खुट्टे फुटबल खेलाडीको रूपमा पनि ख्याति कमाए ।
सन् १९०७ मा १८ वर्षको उमेरमा १५ वर्षकी थेरेसा मुर्रेसँग बिहे गरे । दाम्पत्य जीवनको आनन्द उठाए । थेरेसाले उनलाई ४ सन्तानका पिता बनाइदिइन् । २८ वर्ष लामो सुखी जीवनपश्चात् पति÷पत्नीबीच कलह शुरु भयो । कलहको कारण फ्रान्कको विवाहेत्तर सम्बन्ध थियो । कलह सम्बन्धविच्छेदसम्म पुग्यो । थेरेसाबाट अलग्गिएपछि फ्रान्कले आफ्नी प्रेमिका हेलेन शुपेलाई घर भिœयाए । औपचारिक तवरमा उनीहरूको बिहे भने कहिल्यै भएन । सन् १९६६ मा ७७ वर्षको उमेरमा निधन हुँदा हेलेन फ्रान्क सँगै थिइन् । थेरेसासित सम्बन्धविच्छेदको घटनाबाहेक उनको जीवन सुखी नै थियो । सिसिलीका जनता उनीप्रति गर्व गर्थे । आफ्नो तीनवटा खुट्टा र दुइटा यौनांग भएको बारे प्रश्न गर्दा एउटै उत्तर हुन्थ्यो– मेरी आमा जुम्ल्याहा बच्चा जन्माउन चाहन्थिन् र जुम्ल्याहा बच्चा एउटै शरीरमा खोज्दा मेरो जन्म भयो ।
फ्रान्कको त ३ वटा मात्र खुट्टा थियो तर, अमेरिकाकै टेनेसी राज्यको लिंकन काउण्टीमा जन्मेकी जोसेफिन मेर्टाइल कोर्बिनको त झन् ४ वटा खुट्टा थियो । जन्मिँदै नाइटो तल हड्डीको ढाँचा नै दुइटा थियो । चारवटामध्ये बीचको दुइटा खुट्टा वरिपरिको खुट्टाको तुलनामा छोटो थियो । जस्तो भए पनि टेक्न मिल्थ्यो तर लामो समय टेक्न गाह्रो, कमजोरखाले । चिकित्सकहरू कसैले के भने, कसैले के । चिकित्सक ब्रुकस वेल्सले त राक्षसहरूको वर्ग इलेडेल्फिकको मिश्रण भएको बच्चासमेत भने । उनले पनि १४ वर्षकै उमेरदेखि मेला र प्रदर्शनीस्थलमा शो गरेर पैसा कमाइन् । त्यसबेला हुबर संग्रहालयको एउटा अभिन्न अंगजस्तै बन्न पुगिन् । उनी कुर्सीमा बसिराखेकी हुन्थिन्, चारै खुट्टामा एकै रंगको मोजा र जुत्ता लगाएर । उनलाई हेर्न आउनेहरूको घुइँचो लाग्थ्यो । हप्ताकै ४ सय ५० डलर कमाउने उनले ४७ वर्षको उमेरसम्म यो काम गरिन् र १८ वर्षको हुँदा चिकित्सा शास्त्रका विद्यार्थी जेम्स बेकनेलसँग बिहे गरिन् । जेम्स क्लिन्टन बिकनेल र उनको जीवन सुखद नै रह्यो । जोसेफिन ४ छोरी र १ छोरोको आमा बन्न सफल भइन् । पहिलो पटक बिहेको १ वर्षमै गर्भधारण गरेकी थिइन् । ठूलो समस्या पैदा भएको थियो तर चिकित्सकले बचाए । उनको निधन सन् १९२८ मा भयो । बित्दा ५९ की थिइन् । उनी ५ फुट अग्ली र तीक्ष्ण दिमागकी थिइन् । नितम्बको आकार ठूलो भएकाले हिँड्डुल गर्न समस्या थियो ।
टिप्पणीहरू