फुटेका माओवादीहरु जुट्दै

फुटेका माओवादीहरु जुट्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

एउटै स्कुलिङबाट आएपनि विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने उहाँको सुझाव छ । शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण अहिले चरितार्थ भएको उल्लेख गर्नुभयो ।

उहाँले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने दाबी गर्नुभएको छ । पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको अध्यक्ष प्रचण्डको भनाई  छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए ६४ साल दोहोरिने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उहाँको निचोड छ ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पनि धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू