सिंहदरबारमा मुलुकको शान्ति सुरक्षाबारे ‘ब्रिफिङ’

सिंहदरबारमा मुलुकको शान्ति सुरक्षाबारे ‘ब्रिफिङ’

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा अपरान्ह सवा ४ बजेदेखि बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले मुलुकको पछिल्लो आन्तरिक सुरक्षा अवस्थाको ब्रिफिङ गरेका छन् ।

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलगायतको उपस्थिति रहेको बताइन्छ । 

रास्वपा अध्यक्ष तथा सांसद एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि आज सुरक्षा समितिको बैठक बसेको हो । लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा थप अनुसन्धानका लागि हिजो काठमाडौंमा पक्रेर राति नै पोखरा लगिएको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई भोलि जिल्ला अदालतमा उभ्याईंदै छ ।

रास्वपाका नेता तथा कार्यकर्ताले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पोखरा पुगेका पार्टी नेताहरुले सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको अभिव्यक्ति दिँदै सरकार र प्रधानमन्त्रीविरुद्ध चर्को आक्रोश पोखेका छन् ।

टिप्पणीहरू