रविलाई अदालत लैजाँदा सिडिओ कार्यालय अगाडि नाराबाजीको तयारी
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्रेर प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री एवम् सांसद रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा पेश गर्न लागिएको छ । शुक्रबार रातिदेखि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोही साँझ रास्वपा कार्यालय, काठमाडौंको वनस्थलीबाट पक्रेर स्थलमार्ग हुँदै पोखरा पुर्याइएको थियो ।
हिजो शनिबार भएकाले आजमात्र अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । अदालतले अस्ति अपरान्ह रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्रेर अस्ति राति पोखरा पुर्याएपछि रविलाई हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षण गरिएको थियो । उनीमाथि पोखरास्थित सूर्यदर्शन र अन्य जिल्लाका सहकारी संस्थाको ६५ करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीको रकम उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियाबाट खर्च गरिएको थियो । पोखराको सूर्यदर्शनसँगै चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट कुल ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो ।
यसअघि संसदीय छानबिन विशेष समितिले सहकारीको बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । सोबमोजिम सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुनहरु उनीमाथि आकर्षित हुने निश्चित छ ।
लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका उपसभापतिहरु स्वर्णिम वाग्ले र डीपी अर्याल, केही सांसद तथा पार्टीका नेताहरु पोखरा पुगेका छन् । हिजो चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका उनीहरुले आज रविलाई अदालतमा लैजाने क्रममा जिल्ला प्रशासन कार्यालय अघिल्तिर रविको पक्षमा नाराबाजी गर्ने जनाइएको छ ।
टिप्पणीहरू