अदालतको गेटबाट रवि लामिछानेको आक्रोश : यो देशको सबैभन्दा भ्रष्ट व्यक्ति केपी ओली हो

सहकारी ठगी प्रकरणका पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि खनिएका छन् । 

आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइनेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री ओली नै भएको बताए । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने लामिछानेको माग छ । 

‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो', उनले भने, 'देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ ।’

सरकारविरुद्ध देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गर्दै लामिछानेले आफूलाई झूठो मुद्दामा फसाइएकोले अदालतले न्यान दिने विश्वास व्यक्त गरेका छन् ।

‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर, यो सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइन', लामिछानेले भने, 'अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर, केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ ।'

टिप्पणीहरू