अरुमाथि अनुसन्धान, इन्सपेक्टरविरुद्ध पक्राउ पुर्जी

अरुमाथि अनुसन्धान, इन्सपेक्टरविरुद्ध पक्राउ पुर्जी
सुन्नुहोस्

‘लहरो तान्दा पहरो थर्किएझैँ’ हनिट्रयाप प्रकरणमा एकपछि अर्का प्रहरी अधिकृत तानिन थालेका छन् । बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुली गरेको आरोपमा ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनु शाही निलम्बनमा परेकी थिइन् । हाल फरार रहेकी उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । 

प्रभागका सहायक हवल्दार तथा शाहीका गाडी चालक महेन्द्र मल्ल यही प्रकरणमा पक्राउ परिसकेका छन् । उनीसहित घटनाका आरोपी सुषमा विक, ताज स्लाम र भीमादेवी थापालाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यसैबीच यो प्रकरणमा एसपी कमल थापा पनि मुछिएका छन् । इन्सपेक्टर शाहीमाथि अनुसन्धान गर्न प्रहरी हेडक्वार्टरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त समितिले घटनामा एसपी थापा पनि संलग्नता रहेको आशंका गर्दै थप अनुसन्धानका लागि हेडक्वार्टरलाई सिफारिस गरेको छ ।

समितिले एसपी थापा र इन्सपेक्टर शाही कञ्चनपुरदेखि नै एकअर्कासँग परिचित रहेको निष्कर्ष निकालेको छ । शाही काठमाडौँमा सरुवा भएर आउनुअघि कञ्जनपुर थिइन् । त्यतिबेला थापा पनि त्यहिँ थिए । 

त्यस्तै, हनीट्रयापका मुख्य आरोपी ताल स्लाम र एसपी थापाबीच असोज ७ गते फोनमा कुरा भएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख डिल गरेको र २० लाख बुझेको दिन उनीहरुको भेटघाट भएको सीसीटीभी फुटेज फेला परेको बताइएको छ । 

यसरी विभिन्न तथ्यहरु भेटिएपछि हाल टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत एसपी थापा हेडक्वार्टर तानिएका छन् । अहिले उनीमाथि अनुसन्धान गर्न महिला बालबालिका सेवा निर्देशनालयका एसपी दिपेन्द्र जिसीको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको छ ।

टिप्पणीहरू