रवि र छविलाई फेरि अदालत लैजाने तयारी

रवि र छविलाई फेरि अदालत लैजाने तयारी
सुन्नुहोस्

प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा पेस गरिँदै छ । सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका उनी र पूर्वडीआइजी छविलाल जोशीलाई म्याद थपका लागि प्रहरीले अदालतमा पेस गर्न लागेको बताइएको छ ।

गत शुक्रबार काठमाडौंमा पक्रेर पोखरा पुर्याइएको लामिछानेलाई आइतबारका दिन जिल्ला अदालत कास्कीले छ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर उक्त दिन गणना गत शुक्रबारदेखि लागु हुने उल्लेख भएकाले आज पुनः म्याद थपका लागि अदालत लैजान लागिएको हो ।

दुवै जनालाई अदालतले पछिल्लो पटक दिएको म्याद आज सकिँदैछ । तर अनुसन्धान पूरा नभएकाले जिल्ला प्रहरी कास्कीले पुनः म्याद थपका लागि आज अदालतमा लैजान लागेको बताइन्छ । 

पोखराको सूर्य दर्शन सहकारीसहित बुटवल, चितवन, काठमाडौंलगायत विभिन्न जिल्लाका पाँच वटा सहकारीबाट उनीहरुले ६५ करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीको रकम गोर्खा मिडियामा लगानी गरेका रवि, छवि पक्राउ परे पनि जिबी राई फरार छन् ।

लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीमा अस्ति तीन घण्टा बयान लिएको थियो । जोशीलाई पोखराबाट बयानको निम्ति रुपन्देही पुर्याइएको थियो ।

टिप्पणीहरू