रास्वपाका सांसदहरुलाई एमालेले गरायो सचेत

रास्वपाका सांसदहरुलाई एमालेले गरायो सचेत
सुन्नुहोस्

सत्तारुढ नेकपा (एमाले)ले प्रहरी हिरासतमा रहेका प्रतिवादीको पक्षमा सांसदहरु प्रदर्शनमा उत्रिनु गैरकानुनी काम भएको बताएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध सो पार्टीका सांसदहरु सडक प्रदर्शनमा उत्रिएको प्रति असन्तुष्टि जनाउँदै एमालेले यस्तो प्रतिक्रिया दिएको हो । सडकमा भीड जम्मा पारेर रास्वपाले मुद्दाको अनुसन्धान र अभियोजनमा प्रभाव पार्न खोजेको जनाउँदै उसले निष्पक्ष न्यायिक निरुपणको व्यवस्था मिलाउन सरकारलाई अनुरोध पनि गरेको छ । 

महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँचजना भन्दा बढीको भेला गर्नु,गराउनु आफैँमा कसुर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानूनी कार्य हो  ।’

यस्तो भेलामा सहभागी हुने व्यक्ति कसुरदार हुने भन्दै एमालेले रास्वपाका सांसदलाई सचेत पनि गराएको छ । ‘प्रहरीले यस्तो भेलामा सहभागी नहुन गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै सचेत हुनुपर्छ’, एमालेले भनेको छ । 

फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाउनु सबैको दायित्व हुने जनाउँदै एमालेले छानबिन प्रक्रियालाई प्रभावित गर्ने गरी अस्वस्थ वातावरण सिर्जना गरिनु अत्यन्त दुःखद हो भनेको छ ।

टिप्पणीहरू