जावलाखेलमा गोदावरीको प्रतियोगितात्मक प्रदर्शनी (फोटो फिचर)

जावलाखेलमा गोदावरीको प्रतियोगितात्मक प्रदर्शनी (फोटो फिचर)

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । ललितपुरको जावलाखेलस्थित खेल मैदानमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (एफएएन)ले प्रदर्शनी आयोजना गरेको हो । 

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका आजदेखि शुरु भएको १७औं प्रदर्शनी कात्तिक ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल चार र फोटो पारखीका लागि सेल्फी स्टल एक गरी जम्मा ७५ वटा कक्ष रहेका छन् । 

त्यस्तै, नर्सरी तथा फर्महरुले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा पनि गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र कट फ्लावर रहेको छ । 

प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने एफएएनले बताएको छ । जसअनुसार प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । 

योसँगै नेपालमा व्यवसायिक रुपमा उत्पादन हुदैँ आएको विविध जातका गोदावरी फूल र यो वर्ष भित्रिएका केही नयाँ प्रजातिका फूल बिरुवाको समेत प्रदर्शनी तथा बिक्रीवितरण गरिनेछ । 

चार दिने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । 

लाईन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा प्रदर्शनी अवधिभित्र रक्तदान कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू