चाडपर्वमा उछ्रिङ्खल गतिविधि नगर्न आग्रह

चाडपर्वमा उछ्रिङ्खल गतिविधि नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउने नाममा उच्छ्रिङ्खल गतिविधि नगर्ने सबैलाई सचेत गराएको छ ।

सिडिओ कार्यालयले तिहार, नेपाल संवत् तथा छठ पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले मनाउन अनुरोधसमेत गरेको हो । शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सूचनामार्फत सतर्क गराइएको छ ।  

चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला, झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन, सार्वजनिक मर्यादा, शान्ति सुरक्षा खलल गर्ने, कानूनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने, खेलाउने, भुइँचम्पा, पटका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न सिडिओ कार्यालयको आदेश छ । 

देउसी, भैलोलगायत सांस्कृतिक कार्यक्रम पनि सामाजिक सद्भाव र भाइचारा कायम गर्ने गरी खेल्न आग्रह गर्दै कानूनद्धारा निषेध गरिएका गतिविधि गरेमा कारबाही हुने स्पष्ट पारिएको छ । 

‘सूचना उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गरे-गराएको पाइएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१२८१३४१ मा सम्पर्क गरी जानकारी गराउनुहुनसमेत अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू