सरकार धेरै कुराले राम्रो रहेको देउवाको दावी

सरकार धेरै कुराले राम्रो रहेको देउवाको दावी
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभएको हो । हनिमुन डेजमा सरकारले राम्रो काम गरेको उल्लेख गर्दै देउवाले सबै किसिमबाट गति लिएको दाबी गर्नुभयो । 

‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ', सभापति देउवाले भन्नुभयो । 

विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उहाँको बुझाई छ । राहत तथा खोज र उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मी तैनाथ गरी व्यवस्थापन गरेको देउवाले बताउनुभयो । 

'बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो', उहाँले भन्नुभयो, 'ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम ।'

वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष ओलीले र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने उहाँको भनाई छ । 

'दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर', देउवा भन्नुहुन्छ, 'कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’

टिप्पणीहरू