रविलाई हिरासतमा लामखुट्टेले टोकेको आरोप

रविलाई हिरासतमा लामखुट्टेले टोकेको आरोप
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई लामखुट्टेले टोकेको  भन्दै चिन्ता गरेकी छन् ।  

उनले हिरासतमा लामखुट्टे भगाउने धुप वा लिक्विडको व्यवस्था गरिदिन गृहमन्त्रीसँग अपिल गरिन् । गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै कार्कीले पोखरासहित देशभरका हिरासत तथा कारागारमा सो व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन् । 

पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी उनले कास्कीमामात्र हालसम्म ७५ सयभन्दा बढीमा डेंगु संक्रमण देखिएको र ती मध्ये ६४ सय पोखरा महानगरकै रहेको तथ्यांकसमेत पेश गरेकी छन् । 

‘थुनामा रहेका तथा कारागारमा रहेकाहरु पनि नागरिक हुन् ।’

‘एउटा लामखुट्टे भगाउने धुप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ’, सामाजिक सञ्जालमार्फत सांसद कार्कीले भनेकी छन्, ‘गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु,यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने,लामखुट्टे भगाउने धुप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस् ।’

हिरासत तथा कारागारमा रहेका व्यक्तिहरुको स्वास्थ्य सुरक्षामा लापरवाही गरिएको उनको भनाई छ । थपेकी छन्, ‘थुनामा रहेका तथा कारागारमा रहेकाहरु पनि नागरिक हुन् ।’

गत शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयबाट समातिएका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । हिजो जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

सभापति तत्काल हिरासतबाट मुक्त नहुने संकेत देखिएपछि प्रदर्शनका लागि पोखरा पुगेका रास्वपाका अधिकांश नेता काठमाडौँ फर्किएका छन् ।
 

टिप्पणीहरू